काठमाडौं । पूर्वाधार सम्बन्धि अनलाइन समाचार पोर्टल नेपाल पूर्वाधार डटकमका सम्पादक भीम गौतम रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले गौतमलाई यो वर्षको आर्थिक पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट जनरल सन्तोष रिजाल र फर्स्ट लेडी नविनिता रिजालले पत्रकार गौतमलाई अर्वाड प्रदान गरे । आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले यो वर्षको आर्थिक पत्रकारितातर्फको विधाका लागि गौतमको नाम सिफारिस गरेको थियो ।
सम्पादक गौतमसँगै शिक्षा तथा साहित्य विधातर्फ शिक्षा राष्ट्रिय मासिकमा कार्यरत पत्रकार बालमुकुन्द आचार्य सम्मानित भएका छन् । स्वाथ्य विधातर्फ हिमालय टेलिभिजनकी पत्रकार सृजना बराल, वातावरण विधातर्फ सेतेपाटी डटकमका चितवन संवाददाता राजेश घिमिरे सम्मानित भएका छन् ।
यस्तै, महिला विकासतर्फको विधामा गण्डकी प्रदेशबाट पत्रकारिता गर्ने रेडियो पत्रकार कविता श्रेष्ठ एवं रोटरी क्लब नेपालले गरेका सामाजिक कार्यको नियमित रिर्पोटिङ गर्ने पत्रकार शंकर खरेललाई पनि सम्मान गरिएको छ । अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट जनरल सन्तोष रिजालले पत्रकारिताले पनि देश र समाजमा योगदान गर्ने हुँदा आगामी दिनमा सञ्चार जगतसँग सहकार्य गरेर जान सकिने बताए ।
सम्मानित हुने पत्रकारको प्रतिनिधित्व गर्दै गौतमले अवार्ड प्राप्त हुँदा यो क्षेत्रमा काम गर्न प्रोत्साहन मिल्नुका साथै थप जिम्मेवारीको अनुभुति भएको बताए । अर्की सम्मानित पत्रकार श्रेष्ठले पनि आफुले गरेको कर्मको कदर भएको प्रति आभार व्यक्त गरिन् ।
पर्सनालिटी पावर अफ दि मिडिया सम्मान वरिष्ठ पत्रकार ताम्राकारलाई
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले पर्सनालिटी पावर अफ दि मिडिया सम्मान वरिष्ठ पत्रकार एवं रेडियोकर्मी कृष्णा ताम्राकारलाई दिएको छ । बि.सं २०१८ सालदेखि हालका दिनसम्म पत्रकारितामा सक्रिय रहनु भएकी ८४ वर्षिया ताम्राकारलाई विशेष सम्मान गरिएको हो । उहाँले पत्रकारिता क्षेत्रमा ६ दशक बढी योगदान गरेको सम्मान स्वरुप यो विशेष सम्मान प्रदान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार ताम्राकारले लामो समयसम्म रेडियो पत्रकारितामा पुर्याएको योगदानको कदर गरेको भन्दै आभार व्यक्ति गरिन् । उनले लामो समयसम्म रेडियो नेपालको समाचार बाचिका भएर काम गरेकी छन् । रेडियो नेपालमा पर्यटन, वातावरण लगायतसँग सम्बन्धित कार्यक्रमको निर्माण तथा सञ्चालन गरेको अनुभव छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले हरेक वर्ष सञ्चार कर्ममा आबद्ध पत्रकारहरूलाई सम्मान गर्दै आएकाे छ ।