Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिएकाे हाे ।

मिडिया स्टडीज कार्यक्रम सुरु भएपछि स्नातकोत्तर गर्न इच्छुक विद्यार्थीका लागि यो सुनौलो अवसर हुने केयुका भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहालले बताए । उनका अनुसार आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा संचालित एक पृथक कार्यक्रम हो ।

केयुमा याे संकाय अध्ययनका लागि भर्ना हुने विद्यार्थीहरूले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्दछन् । केयूको मिडिया स्टडीज कार्यक्रममा प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरूको बजारमा अत्याधिक माग रहने गरेको दाहालले बताए ।

स्नातकोत्तर तहमा पढाइ हुने विषयमध्ये एक चौथाइ विषयहरू अनुसन्धानसम्बन्धी छन् । मिडिया उत्पादन, मिडिया व्यवस्थापन जस्ता विषयहरु व्यवसायिक मिडिया कर्ममा लाग्न चाहनेहरुका लागि ज्ञानको बलियो आधार हुन सक्ने केयुले जनाएकाे छ । स्नातकोत्तर तहको याे कार्यक्रम नेपाल एवं एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा  राखेर तयार गरिएकाे विभागका सह–प्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।

यस २ बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरूबाट ३ वटा ऐच्छिक विषय छान्न सक्नेछन् । तर, प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।

मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम पूरा गर्ने विद्यार्थीहरू आमसञ्चारका क्षेत्रमा समाचार सम्वाददाता, सम्पादक, मिडिया व्यवस्थापक, टेलिभिजन प्रस्तोता लगायत विभिन्न पदका लागि योग्य हुनेछन् । साथै विज्ञापन तथा जनसम्पर्क, सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा रोजगारीका अवसरहरु मिल्नेछन् भने आफैं यस्ता क्षेत्रहरुमा व्यवसाय सुरु गर्ने क्षमता तथा योग्यताको विकास हुनेछ ।

स्नातकोत्तर तहको यस कार्यक्रमले नीति निर्माण, सञ्चार विज्ञ तथा अनुसन्धाता तथा शोधकर्ताका रुपमा काम गर्न योग्य बनाउँछ । मिडिया क्षेत्रमै विद्यावारिधी गर्न चाहनेहरुका लागि पनि यो स्नातकोत्तर कार्यक्रम निकै सहयोगी हुनेछ ।

स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ बर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ । साथै न्यूनतम ५० प्रतिशत वा २.५ जिपिए ल्याएको हुनुपर्छ । तर, दश बर्षभन्दा बढी व्यवसायिक मिडियाकर्ममा लागिसकेका आवेदकको हकमा ४५ प्रतिशत वा २ जिपिए भए पुग्छ ।

मास्टर्स् इन मिडिया स्टडीज नामको यो स्नातकोत्तर कार्यक्रममा हरेक बर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा        पढाई शुल्क ४ लाख रुपैयाँ कायम गरिएको छ । यस कार्यक्रममा भर्ना भएका मध्ये २० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यवस्था छ ।

सूचना प्रविधिमा आएको नवक्रान्तिलाई पछ्याउँदै नेपाली आमसञ्चार तथा मिडियाको क्षेत्रले केही वर्ष यतादेखि विशिष्टिकृत जनशक्तिको अभाव झेली रहेको परिवेशमा मास्टर्स् इन मिडिया स्टडीजबाट उत्पादित जनशक्ति सहायक मात्र हुनेछैन, यसले नेपाली मिडिया क्षेत्रका समग्रता समेतमा दीर्घकालीन प्रभाव पार्नेछ ।

यस कार्यक्रम बारे थप जानकारीका https://kusoa.edu.np/programs/mms/ मा उपलब्ध छ ।


Read Previous

नेपाल पूर्वाधार डटकमका सम्पादक गौतम राेटरी जर्नो अवार्डबाट सम्मानित

Read Next

३२ बर्षपछि गति लिँदै ‘संयुक्त पश्चिम सेती’

Leave a Reply

Your email address will not be published. Required fields are marked *