
रसुवा। गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चार ओटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पूर्ण रूपमा क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।
सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५ जना, मालिकादेवी आधारभूत विद्यालयका ११ जना, मोडर्न ट्रिनिटीका आठ जना र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेका छन्।
बाढीबाट प्रभावित अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको इकाई प्रमुख सिलवालले बताए। चिप्लेटी आधारभूत विद्यालयका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था गरिएको छ।
त्यस्तै, मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय भलायडाँडामा तथा मोडर्न ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था मिलाइएको छ।
बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालयमा समेत पठनपाठन प्रभावित भएको थियो। तीमध्ये केही विद्यालय पूर्ण रूपमा बन्द भएका थिए।
नौकुण्ड गाउँपालिकामा भने बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गतेदेखि नै पठनपाठन सुरु गरिएको थियो।

