
फाइल तस्बीर।
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका-६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। नयाँ ट्रान्सफर्मर सम्बन्धित स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको सहारा लिनुपरेको छ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार केही दिनअघि ट्रान्सफर्मर जलेपछि प्यूघरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो। पुरानो ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गरेपछि अहिले विद्युत् सेवा नियमित भएको छ।
भरतपुर वितरण केन्द्रका सूचना अधिकारी विनोद ढकालका अनुसार नयाँ ट्रान्सफर्मर प्यूघर पुर्याउन स्थानीयवासीले त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुलबाट बोकेर तार्न सहयोग गरेका थिए। पुल पार गराएपछि ट्रान्सफर्मरलाई गाडीमार्फत सम्बन्धित स्थानसम्म पुर्याएर जडान गरिएको उनले बताए।
ट्रान्सफर्मर परिवर्तन भएपछि प्यूघरका ६२ घरपरिवारमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ। विद्युत् सेवा अवरुद्ध भएपछि समस्यामा परेका स्थानीयवासीलाई नयाँ ट्रान्सफर्मर जडानसँगै राहत मिलेको छ।
तर प्यूघरमा ट्रान्सफर्मर पुर्याउने क्रममा यहाँको पूर्वाधार समस्या पुनः सतहमा आएको छ। आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउनेघाटमा निर्माणाधीन पक्की पुल अलपत्र हुँदा सवारीसाधनबाट ठूला तथा अत्यावश्यक सामग्री ओसारपसार गर्न समस्या हुँदै आएको छ।
पक्की पुल निर्माण सम्पन्न भएको भए विद्युतीय उपकरण, निर्माण सामग्री तथा अन्य भारी सामग्री सवारीसाधनबाटै सहज रूपमा सम्बन्धित स्थानसम्म पुर्याउन सकिने थियो। तर पुल निर्माण अलपत्र हुँदा स्थानीयवासीले झोलुङ्गे पुलबाट मानिसकै भरमा सामग्री बोकेर नदी पार गर्नुपर्ने बाध्यता छ।
स्थानीयका अनुसार विद्युत् सेवा, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको ओसारपसारमा सडक तथा पुलका कारण समस्या हुँदै आएको छ। विशेषगरी आपत्कालीन अवस्थामा आवश्यक पर्ने भारी सामग्री झोलुङ्गे पुलबाट मानिसले बोकेर लैजानुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।
घुमाउने पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयले सास्ती खेप्दै आएको बताए।
त्यस्तै जिल्लाको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेघाट पुल १२ वर्षदेखि अलपत्र रहेपछि सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको ठेक्का तोडेको छ। कार्यालयका अनुसार अब सोही स्थानमा नयाँ पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।
तोकिएको अवधि र थपिएको म्यादमा समेत निर्माण सम्पन्न नगरेको तथा पटकपटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि ठेक्का तोडिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले बताए।
घुमाउनेघाट पुल निर्माणका लागि मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग २०७० असारमा पहिलोपटक सम्झौता भएको थियो। तर लामो समयसम्म निर्माणले गति लिन नसकेपछि सम्झौता तोडिएको हो।
कार्यालयले सोही स्थानमा नयाँ पुल निर्माणका लागि अध्ययनसमेत सुरु गरिसकेको जनाएको छ। नयाँ पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
स्थानीयवासीले भने नयाँ ठेक्का प्रक्रिया छिटो पूरा गरी पुल निर्माण तत्काल अघि बढाउन माग गरेका छन्। पक्की पुल निर्माण भएपछि दैनिक आवतजावतसँगै अत्यावश्यक तथा भारी सामग्रीको ढुवानी सहज हुने उनीहरूको अपेक्षा छ।

