काठमाडौं । पाेखराबाट जोमसोमको लागि उडेको सम्पर्कविहिन तारा एयरको खोजी कार्य जारी छ । पोखराबाट स्थानीय समय अनुसार आइतबार बिहान ९ः५५ बजे जोमसोमको लागि उडेको तारा एयरको ट्वीन अटर नाइनएन–एइटी विमान सम्पर्कविहिन छ ।
कुल २२ (१९ यात्रु र ३ चालक) जना सहित उडेको तारा एयरको ट्वीन अटर विमानको अन्तिम पटक जोमसोम टावरसंग १०ः ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । यात्रुहरुमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् ।
त्यसपछि विमान सम्पर्क विहिन भएको खोज तथा उद्धार समन्वय केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाईएकोमा प्रतिकुल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको छ ।
काठमाण्डौ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको छ । मौसममा सुधार आउनासाथ हवाईमार्गवाट खोजी कार्य पुनः शुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरी सकेका छन् ।
यसैबिच तारा एयरले विज्ञप्ति जारी गर्दै सम्पर्कविहिन भएकाे जहाजकाे खाेजी कार्य भइरहेकाे जानकारी दिएकाे छ । साथै, नयाँ सूचना हुने वितिकै विज्ञप्ति मार्फत जानकारी दिने बताएकाे छ ।