Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

जनोपयोगी सार्वजनिक संस्थानहरूले खुद नाफा घटाए


काठमाडौं । सरकारी स्वामित्वमा रही सञ्चालित जनोपयोगी क्षेत्रका सार्वजनिक संस्थानहरूले नाफा घटाएका छन् । यी संस्थानहरूले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको खुद मुनाफाको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा आर्जन गरेकाे मुनाफा घटाएका हुन्।

नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय ग्रिड प्रसारण कम्पनीको मुनाफामामा कमी आएको सरकारले शनिबार सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिती समीक्षा प्रतिवेदन २०७९ मा उल्लेख छ । समीक्षा प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २० अर्ब ६३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका संस्थानले २०७६/७७ मा १३ अर्ब ५ करोड ९० लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेका छन् ।

संस्थानहरूले आर्जन गरेको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.७० प्रतिशत कम हो । नेपाल विद्युत प्राधिकरणको मुनाफामा ४४.७४ प्रतिशत कमी आएको छ । नेपाल दुरसंचार प्राधिकरणको मुनाफामा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८० प्रतिशतले कमी आएको छ ।

यी संस्थानहरूको कूल आम्दानी बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेका यी संस्थानहरूले २०७७/७८ मा १ खर्ब ७ अर्ब ४० करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

संस्थानहरूले गरेको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३.६२ प्रतिशत बढी हो । यो अवधिमा विद्युत प्राधिकरणको आम्दानी ३.५२ प्रतिशतले वृद्धि हुँदा दुरसञ्चार प्राधिकरणले ३.८० प्रतिशतले आम्दानी बढाएको छ ।

संस्थानहरूको कूल सञ्चित नाफाको आकार बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५५ अर्ब २५ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ५० अर्ब ३६ करोड ८७ लाख रुपैयाँ रहेकोमा अर्को वर्ष यसमा ९.६९ प्रतिशतले वृद्धि हुन पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

५ वटै जनोपयोगी संस्थानमा कार्यरत कर्मचारीको संख्या पनि घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा १३ हजार ४ सय ४ कर्मचारी कार्यरत रहेकोमा २०७७/७८ मा २.९४ प्रतिशतले कर्म आई १३ हजार १० हजारमा झरेको हो । यी कर्मचारीको उत्पादकत्व ८२ लाख ५६ हजार रहेको प्रतिवेदन जनाइएकाे छ ।

संस्थानहरूको सेयरधनी कोष १३.४६ प्रतिशतले वृद्धि हुँदा खानेपानी संस्थानको सेयरधनी कोष भने ऋणत्मक देखिएको छ । यही अवधिमा विद्युत प्राधिकरणको सेयरधनी कोष १८.९२ प्रतिशतले बढेको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा विद्युत प्राधिकरणमा गरेको थप सेयर लगानी तथा प्राधिकरणको नाफामा भएको वृद्धिका कारण सेयरधनी कोष बढेको हो ।

समीक्षा प्रतिवेदनका अनुसार अहिले प्राधिकरणको सेयधनी कोष १ खर्ब ५६ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ खर्ब ९२ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ बराबरको भएपछि सेयरधनी कोषमा पनि वृद्धि देखिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा विश्वव्यापी फैलिएको कोरोना (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चालिएका कदमका कारण समग्र अर्थतन्त्रमा नै प्रभाव पर्दा यी सार्वजनिक संस्थानहरूमा केही असर परेको समिक्षा प्रतिवेदनमा भनिएको छ । यो अवधिमा मुनाफामा कमी आए पनि संस्थानहरूको समग्र वित्तीयस्थितीलाई प्रतिवेदनले सन्तोषजनक मानेको छ ।


Read Previous

कतिपय ठूला परियोजनाको बजेटलाई ‘होलिडे’ गरिदिए हुन्छ

Read Next

जोमसोमको लागि उडेको सम्पर्कविहिन तारा एयरको खोजी जारी

Leave a Reply

Your email address will not be published.