
काठमाडौं । चीनले आफै विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमानले पहिलो पटक चालकसहित सफल उडान गरेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीई–२५ए (CE-25A) नाम दिइएको उक्त विमानले नोभेम्बर १४ मा पहिलो चालकसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको हो ।
छोटो दूरीको व्यावसायिक हवाई यात्रालाई लक्षित गरी विकास गरिएको यो विमानले एकपटकको उडानमा ४०० किलोमिटरसम्म दूरी पार गर्न सक्ने बताइएको छ । विमानमा एकैपटक १९ जनासम्म यात्रु बोक्ने क्षमता रहेको छ ।
१० टन क्षमताको यो विद्युतीय विमान चीनको आफ्नै प्रविधिमा विकास गरिएको व्यावसायिक हवाई यातायातको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
विद्युतीय प्रविधिमा आधारित यस्ता विमानले छोटो दूरीको हवाई यात्रालाई थप सहज बनाउनुका साथै परम्परागत इन्धनमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


