
काठमाडौं। दशैं र तिहार सकिएसँगै छठ पर्वको चहलपहल सुरु भएको छ। छठ नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा पर्व लक्षित व्यापार बढेको छ। पूजाका लागि आवश्यक फलफूल, पूजा सामग्री र बाँसबाट बनेका सामग्री खरिद गर्न बिहानैदेखि ग्राहकको भीड लागेको छ।

छठ पूजामा प्रयोग हुने केरा, नरिवल, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा र भोगटेलगायत फलफूल तथा कन्दमूलको किनमेल बढेको छ। त्यस्तै, ठेकुवा र भुसुवा (कसार) बनाउन आवश्यक सामग्रीको पनि माग हुने गरेको छ।

पूजाका लागि प्रयोग गरिने बाँसका सुप, नाङ्लो, डालो, टोकरी, माटोका हात्ती, दियो, अगरबत्ती, धूप र पञ्चमेवालगायत सामग्री किन्ने ग्राहकको पनि चहलपहल देखिएको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर विधिपूर्वक पूजा गर्छन्। विशेषगरी तराई–मधेशमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


