
म्याग्दी। गत महिनाको बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुरू भएको छ। नेपाल विद्युत् प्राधिकरणका बेनी र तातोपानी वितरण केन्द्रले क्षतिग्रस्त प्रसारण लाइन, शाखा लाइन तथा अन्य संरचना मर्मत गरेर विद्युत् सेवा सञ्चालनमा ल्याएका हुन्।
बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा शनिबारदेखि विद्युत् सेवा सुरू भएको छ।
उनले धेरैजसो क्षेत्रमा दुईदेखि तीन दिनभित्रै विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको बताए। पाउद्वार, गिवाङ र किन्दु क्षेत्रमा भने दसैँको समयमा समेत कर्मचारी तथा मजदुर परिचालन गरेर रातिसम्म मर्मतको काम गरिएको उनले जानकारी दिए।
“कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ। दोस्रो चरणमा थप मर्मत गरेर विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ,” गामीले भने।
बाढीपहिरोले प्राधिकरणको ३३/११ केभी प्रसारण तथा वितरण लाइनका २५० ओटा पोल र तिनमा तानिएका तारमा क्षति पुर्याएको थियो। उक्त घटनाबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
क्षतिग्रस्त संरचनाका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तान क्षेत्रमा पर्वतको जलजला गाउँपालिका-५ लेकफाँटतर्फबाट वैकल्पिक रूपमा विद्युत् आपूर्ति गरिएको छ। यसअघि ती क्षेत्रमा महभीरतर्फबाट विद्युत् आपूर्ति हुँदै आएको थियो।
त्यस्तै, पाउद्वारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गरिएको गामीले बताए।
बेनी वितरण केन्द्रअन्तर्गत मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनीसहित २४ हजार ४९० ग्राहकलाई विद्युत् सेवा उपलब्ध हुँदै आएको छ। तातोपानी वितरण केन्द्रले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ सहित मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति गर्दै आएको छ।
विद्युत् सेवा पुनः सञ्चालन भएपछि बाढीपहिरोबाट प्रभावित ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ। प्राधिकरणले क्षतिग्रस्त संरचनाको थप मर्मत गरी विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने काम अघि बढाएको जनाएको छ।


