
मुस्ताङ। भारी हिमपातपछि थोरङला पासको पदमार्ग खुलाइएसँगै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मनाङ हुँदै मुस्ताङ भित्रिएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मुस्ताङका अनुसार मुस्ताङ भित्रिनेमा सार्क राष्ट्रका ४३ र अन्य देशका ७२९ जना पर्यटक छन्।
गत असोज ११ गतेको भारी वर्षा र हिमपातका कारण अवरुद्ध पदमार्ग मनाङ र मुस्ताङका पर्यटन व्यवसायी तथा सुरक्षाकर्मीले हिउँ पन्छाएर सञ्चालनमा ल्याएका थिए। अहिले थोरङला पास हुँदै दैनिक १०० भन्दा बढी पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन्।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार थोरङला पास हुँदै पर्यटक आउने क्रम बढेपछि मुक्तिनाथ क्षेत्रका अधिकांश होटलमा पर्यटक भरिन थालेका छन्। यस मार्गबाट विदेशी पर्यटक आउने सिजन नोभेम्बर अन्तिमसम्म रहनेछ।


