Nepal Purbadhar

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षादेखि आगामी कार्यदिशासम्मका विषय समेटिएका छन्।

प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ।

युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको विषयमा पनि आत्मसमीक्षा गरिएको छ। विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गर्दै पार्टी सुधारको संकल्प गरिएको विषयलाई प्रतिवेदनले आगामी कार्यदिशासँग जोडेको छ।

प्रतिवेदनमा आगामी दिनमा निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति अवलम्बन गर्ने प्रस्ताव गरिएको छ। पार्टी संगठनलाई पुनर्संरचना गर्दै उम्मेदवार छनोटमा पार्टी सदस्यको प्रत्यक्ष सहभागितासहितका विकल्प अघि सारिएका छन्। सरकारमा हुँदा नीति तथा कार्यक्रम कार्यान्वयन र सरकारबाहिर हुँदा प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने कार्यदिशा पनि प्रस्ताव गरिएको छ।

कांग्रेसले सरकारका महत्वपूर्ण निर्णयमा प्रश्नको जवाफ खोज्ने प्रणाली विकास गर्ने तथा बजेट खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने डिजिटल प्रणाली विकास गर्ने प्रस्तावसमेत प्रतिवेदनमा राखिएको छ।

प्रतिवेदनको मुख्य अवधारणाका रूपमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई अघि सारिएको छ। ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअन्तर्गत अर्थतन्त्र, निजी क्षेत्र, रोजगारी, कृषि, उद्योग तथा उत्पादन, सामाजिक न्याय, जलवायु परिवर्तन, हरित विकास, प्रविधि र कृत्रिम बुद्धिमत्ताजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, संघीयता र संविधान, संक्रमणकालीन न्याय, राष्ट्रिय स्वाधीनता, बदलिँदो विश्व परिस्थिति, राष्ट्रिय मेलमिलाप, पार्टीभित्र भ्रष्टाचार नियन्त्रण र आन्तरिक अनुशासनका विषय पनि प्रतिवेदनमा समेटिएका छन्।

संगठन सुधारका क्रममा पाँच पुस्ताबीचको सहकार्य, युवा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ। सहिद, घाइते तथा विस्थापितका लागि अक्षयकोष स्थापना, युवाका लागि विशेष व्यवस्था तथा ‘समुन्नति’ कार्यान्वयनको समयसीमासहितका कार्यक्रमसमेत प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा प्रधानमन्त्रीका लागि दुई कार्यकालको व्यवस्था, निर्वाचन सुधार तथा पार्टीका तर्फबाट ‘के गर्नेछैनौँ’ भन्ने सार्वजनिक प्रतिबद्धता गर्ने विषयसमेत समेटिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदनसँगै अन्य प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ।


Read Previous

पक्की पुल अलपत्र हुँदा झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता, १२ वर्षदेखि अलपत्र पुलको ठेक्का तोडियो

Read Next

अर्घ्य अर्पण र ‘जाकुरी’ पूजासँगै जितिया पर्वको समापन (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar