Nepal Purbadhar

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, वैकल्पिक व्यवस्थापनको तयारी

यो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ भने यसमार्फत करिब ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । सांकेतिक तस्बीर।


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। विद्युत् आपूर्तिमा परेको प्रभावलाई व्यवस्थापन गर्न सरकारले वैकल्पिक व्यवस्था अघि बढाएको छ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा प्रसारण लाइनमा चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैकल्पिक विद्युत् आपूर्ति प्रणाली विकासका लागि गृहकार्य भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले यसका लागि ‘टास्क फोर्स’ गठन गरेर काम गरिरहेको उनले बताए।

हिउँदमा विद्युत्को माग बढ्ने भएकाले थप भूमिगत ग्रिड निर्माण तथा वैकल्पिक आपूर्ति व्यवस्थापनका विषयमा मन्त्रालयले सडक विभाग र काठमाडौँ महानगरपालिकासँग छलफल गरेको छ।

छलफलमा सडक विभागले भूमिगत ग्रिड निर्माणका लागि आवश्यक सहयोग गर्ने जनाएको छ। काठमाडौँ महानगरपालिकाले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित गर्दै हिउँदको विद्युत् माग व्यवस्थापनमा सहकार्य गर्ने बताए।

बागमती वितरण तथा ग्राहक निर्देशनालय प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौँको लोड व्यवस्थापनबारे प्रस्तुतिकरण गर्दै प्राधिकरणले हिउँदे माग व्यवस्थापनका लागि ‘टास्क फोर्स’मार्फत काम अघि बढाइरहेको जानकारी दिए।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदमा विद्युत्को चाप व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच उच्चस्तरको समन्वय आवश्यक रहेको बताए।


Read Previous

नारायणीको बाढी पसेको विद्यालय सफा गर्दै शिक्षक र विद्यार्थी- तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar