
बागलुङ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ६१ घरगोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विपद्मा परी १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छन्। निसीखोला र तमानखोला क्षेत्र बढी प्रभावित भएका छन्। बाढीपहिरोले तीन ओटा झोलुङ्गे पुल, गलकोट-९ को वडा कार्यालय तथा दुई ओटा प्रहरी कार्यालयमा समेत क्षति पुर्याएको छ।
यस्तै दुई ओटा जलविद्युत् आयोजनासहित विद्यालय, रिसोर्ट र कृषि फार्ममा क्षति पुगेको छ। २५६ पशुचौपाया र २१५ कुखुरा मरेका छन्।
निसीखोला गाउँपालिकाले मृतकका परिवारलाई ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार र आंशिक जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको जनाएको छ।


