Nepal Purbadhar

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा


काठमाडौं। पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव ८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव २ मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ।

केन्द्रका अनुसार अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले र स्याङ्जाको पाँचमूल वर्षा भइरहेको छ।

वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदी तथा खोलामा जलसतह सतर्कता तह नजिक पुगेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीको मङ्गलघाटमा नदीले जलसतह सतर्कता तह पार गरेको छ।

देशभर अधिकांश स्थानमा बादल

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।

भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षा रोकिएको छ। हाल उपत्यकासहित देशभर अधिकांश स्थानमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थान र कोशी तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका खोँच तथा उपत्यकाका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा तथा हावाहुरीका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवं उद्धार तथा राहतका काममा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


Read Previous

भोटेकोशी बाढीले बगाएका ३७ पुलको अवस्था कस्तो छ? तीन जिल्लामा आवागमन अझै प्रभावित

Read Next

कृष्णभिरमा पहिरो पन्छाएपछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar