
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार टुँडीखेलमा आयोजित समारोहमा नेपाली सेनाकाे टुकुडीले अर्पण गरेकाे सलामी ग्रहण गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल।
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ।
दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक व्यक्तित्वले संविधानको कार्यान्वयन, सुशासन, राष्ट्रिय एकता, सामाजिक न्याय, समृद्धि र आवश्यकताअनुसार संवैधानिक सुधारका विषयमा आ-आफ्ना धारणा सार्वजनिक गरेका छन्।
राष्ट्रपति पौडेल : संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबाट प्राप्त अवसर र उपलब्धिको संरक्षण तथा संस्थागत गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, राज्यका निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व, विभेद र असमानताको सम्बोधन तथा सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन्।
राष्ट्रपतिले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट जवाफदेही सार्वजनिक प्रशासन, प्रभावकारी संवैधानिक निकाय र नागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनले नागरिकका असन्तुष्टिका विषयलाई यथोचित सम्बोधन गर्दै आम नागरिकमा विधिको शासनको प्रत्याभूति दिलाउन आवश्यक रहेको उल्लेख गरेका छन्। संविधानबाट प्राप्त अवसर र उपलब्धिको संरक्षण तथा संस्थागत गर्दै सुशासन र समृद्धितर्फ अघि बढ्न साझा सहमति आवश्यक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाह : संविधानको अक्षर र भावना दुवैप्रति प्रतिबद्ध
प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेको भन्दै सरकारका हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित रहने बताए।
प्रधानमन्त्री शाहले शहीदहरूको रगतले लेखिएको संविधानलाई काममार्फत पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

सभामुख अर्याल : संविधानको मूल मर्म व्यवहारमा उतार्नुपर्छ
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
उनले संविधानको संरक्षण र कार्यान्वयनका लागि राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखेका छन्।
राष्ट्रियसभा अध्यक्ष दाहाल : संशोधन साझा सहमतिबाट
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान कार्यान्वयनका क्रममा देखिएका आवश्यकता र अनुभवका आधारमा सुधार तथा संशोधनका विषय अघि बढाउन सकिने बताएका छन्।
उनले संविधान संशोधनको विषयलाई संवैधानिक र संसदीय प्रक्रियामार्फत अघि बढाउनुपर्ने धारणा राखेका छन्।
पूर्वप्रधानमन्त्री ओली : संविधानको रक्षा र राष्ट्रिय एकतामा जोड
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधानका उपलब्धिको संरक्षण गर्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्ड : संविधानका उपलब्धि जनताको जीवनसँग जोड्नुपर्छ
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्।
उनले संविधानले परिकल्पना गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुने गरी अघि बढाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको धारणा राखेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराई : नयाँ पुस्ताले संविधानलाई अझ उन्नत बनाउनुपर्छ
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असोज ३ लाई राष्ट्रिय दिवस तथा नेपाली जनता सार्वभौमसत्तासम्पन्न बनेको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।
उनले आधुनिक नेपाली इतिहासमा संविधान दिवसलाई महत्वपूर्ण दिनका रूपमा उल्लेख गर्दै संविधान निर्माणका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।
भट्टराईले पहिलो पुस्ताले आधुनिक लोकतन्त्रको जग खनेको र दोस्रो पुस्ताले त्यसै आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना निर्माण गरेको उल्लेख गर्दै अबको नयाँ पुस्ताले लोकतान्त्रिक संरचनामा सुशासन र समृद्धिको आधार थप्नुपर्ने बताएका छन्।
उनले लोकतन्त्र कुनै स्थिर वस्तु वा एकपटक सम्पन्न हुने घटना नभई निरन्तर गतिशील प्रक्रिया भएको भन्दै प्रत्येक नयाँ पुस्ताले त्यसलाई थप समृद्ध र उन्नत बनाउँदै लैजानुपर्ने बताएका छन्।
साझा सहमतिबिना संशोधन हुँदैन: संविधान संशोधन कार्यदलका संयोजक असिम शाह
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा सार्वजनिक गरिएको अन्तर्वार्तामा शाहले कार्यदलले सरकारलाई संविधान संशोधनसम्बन्धी बहसपत्र बुझाइसकेको जानकारी दिँदै संशोधनका विषयमा सबैको सहमति र सहकार्य आवश्यक रहेको बताए। धेरै विषय भए चरणबद्ध रूपमा अघि बढ्न सकिने उनको भनाइ छ।
उनले संविधान संशोधनलाई संवेदनशील विषयका रूपमा लिनुपर्ने र भूराजनीतिक तथा अन्य सम्भावित जटिलताको पूर्वानुमान गरेर अघि बढ्नुपर्ने बताए।
शाहले नेपालको संविधान जनताबाट निर्वाचित प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको र यसको वैधानिकतामा प्रश्न नरहेको बताएका छन्। उनका अनुसार संविधानमा समयक्रममा केही कमीकमजोरी वा औचित्य परिवर्तन देखिए त्यसलाई संविधानको मर्मअनुसार संशोधन गर्न सकिन्छ, तर पुनर्लेखन गर्ने उद्देश्य कार्यदलको नभएको स्पष्ट पारे।
उनले संविधानको कार्यान्वयन सबै पक्ष कति इमानदार भएर गर्छन् भन्ने विषयमा निर्भर रहने बताए। कार्यदलले तयार पारेको बहसपत्र आगामी सरकारका लागि पनि उपयोगी हुने उनको दाबी छ।

पूर्वमन्त्रिपरिषद् अध्यक्ष रेग्मी : संविधान दिवसको शुभकामना
पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। संविधान दिवसको ऐतिहासिक महत्व स्मरण गर्दै उनले संविधानको मर्मअनुसार लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्।
प्रदेश तहबाट पनि संविधान कार्यान्वयनमा जोड
संविधान दिवसका अवसरमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूले पनि शुभकामना सन्देश जारी गरेका छन्। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय तथा नागरिकलाई राज्यका सेवा र अधिकार सहज रूपमा उपलब्ध गराउने विषयमा जोड दिएका छन्।
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा राज्यका विभिन्न तह र तप्काबाट आ-आफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्। उनले विविधताबीचको एकता, सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षणमा जोड दिएका छन्।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले भोगिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयनबाट खोज्नुपर्ने बताएका छन्। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संविधानले प्रदेश तथा स्थानीय तहलाई दिएको अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई राज्यका सेवा र अवसरसँग जोड्नुपर्ने धारणा राखेका छन्।
बागमती प्रदेश सरकारले पनि संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।
भारतीय विदेशमन्त्री जयशंकरको पनि शुभकामना
संविधान दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाललाई शुभकामना दिएका छन्। उनले परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय दिवसको शुभकामना दिँदै नेपाल-भारतबीचको मित्रता थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

