
फाइल तस्बीर।
धादिङ। धादिङको कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। बुधबार बिहान ६ बजेदेखि राजमार्गमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्।

भोटेकोशीमा आएको विनाशकारी बाढीको चार दिनपछि गत १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडक कटानका कारण काठमाडौं जाने र आउने सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए।
नयाँ ट्र्याक निर्माणपछि गत २८ भदौमा केही हेभी सवारीसाधन सञ्चालन गरी परीक्षण गरिएको थियो। त्यसपछि ट्र्याकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सम्बन्धित निकायले निरन्तर काम गरेका थिए।

कृष्णभिर क्षेत्रमा सम्बन्धित निकायको निरन्तर प्रयासबाट नयाँ ट्र्याक निर्माण भएपछि बुधबार बिहान ६ बजेदेखि राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउने निर्णय गरिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहानैदेखि पृथ्वी राजमार्गमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्। राजमार्ग सञ्चालनमा आएसँगै संघीय राजधानी काठमाडौं आउजाउ गर्ने यात्रुलाई सहज हुने भएको छ।

यद्यपि पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगा-माटो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। प्रशासनले सवारी चालक तथा यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।
राजमार्ग अवरुद्ध हुँदा ठूला तथा साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं आउजाउ गर्दै आएका थिए।



