Nepal Purbadhar

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारका लागि तीन टोली परिचालन


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनवटा टोली परिचालन गरेको छ।

प्राधिकरणका अनुसार जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र उद्धारका लागि आवश्यक सामग्री ‘एयरलिफ्ट’ गर्नुपर्ने चुनौतीका बीच उद्धारमा खटिएका कर्मचारी तथा कामदारको खोजी कार्य जारी राखिएको छ।

उद्धार कार्यका लागि शान्तिबजार, रसुवा (माथिल्लो त्रिशूली–३ ‘ए’ पावरहाउस नजिक), बट्टार–त्रिशूली र काठमाडौंस्थित प्रधान कार्यालयमा गरी तीन टोली गठन गरिएको छ। टोलीहरूले नेपाली सेना, विज्ञ तथा प्राविधिकसँग समन्वय गरी उद्धार कार्य अघि बढाउनेछन्।

प्राधिकरणले उद्धारका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न बट्टार–त्रिशूलीस्थित टोलीलाई ‘एनईए ( त्रिशुली डिजास्टर रेस्क्यु)’ नामक ह्वाट्सएप समूहबाट सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। बट्टारमा मौज्दात रहेका आवश्यक सामग्री तत्काल उपयुक्त माध्यमबाट साइटमा पठाइनेछ ।

बट्टारमा आवश्यक सामग्री मौज्दात नरहेको अवस्थामा काठमाडौंस्थित प्रधान कार्यालयको टोलीले ह्वाट्सएप समूहबाट जानकारी गराई उद्धारस्थलमा आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ। औपचारिक स्रोतभन्दा बाहिरबाट माग भएका सामग्रीको आपूर्ति गर्न प्राधिकरण बाध्य नहुनेसमेत सूचनामा उल्लेख छ ।

उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ केन्द्रबाट आभाष ओझा (प्रबन्धक–संयोजक) र सुरेश राउत (उपप्रबन्धक–सदस्य) खटिएका छन् ।

त्यस्तै, बट्टार–त्रिशूली टोलीको संयोजकमा निर्देशक धीरेन्द्र चौधरी छन् । टोलीमा दिनेश श्रेष्ठ, सुरज दाहाल, प्रदीप सिंह, हरिश्चन्द्र धिताल र क्षितिज कोइराला सदस्य छन् । प्रधान कार्यालय टोलीको संयोजकमा पशुपति गौतम तथा सदस्यमा प्रभाव बिष्ट र टंक पौडेल रहेका छन् ।

प्राधिकरणले विपद्मा परेका कर्मचारी तथा कामदारको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोतसाधन अधिकतम परिचालन गरिरहेको जनाएको छ ।


Read Previous

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

Read Next

कृष्णभीर पहिरो:तत्काल ग्याबिन हटाएर सडक खोलिने, वैकल्पिक सडकदेखि टनेलसम्मको योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar