Nepal Purbadhar

भोटेकोशी बाढी: मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन, कसरी भइरहेको छ काम?

उद्धार गर्दै नेपाल प्रहरी, फाइल फोटो।


काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।

नेपाल प्रहरीले प्रभावित क्षेत्रका बहुआयामिक समस्या सम्बोधन तथा सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ठूलो संख्यामा टोली परिचालन गरेको जनाएको छ।

परिचालित प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन्।

त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी परिचालन भएका छन्।

२४ घण्टा समन्वय केन्द्र सञ्चालन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ।

विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको प्रहरीले जनाएको छ।

अस्पताल र विमानस्थलमा फोकल डेस्क

घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले अस्पताल र विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ।

वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौँ मेडिकल कलेजमा ५ तथा त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसपीको नेतृत्वमा ८ जना प्रहरी परिचालन गरी स्वदेशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेको विवरण संकलन गर्ने डेस्क स्थापना गरिएको छ।

ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोन प्रयोग

बाढी प्रभावित क्षेत्रमा खोजी तथा अनुसन्धानलाई प्रभावकारी बनाउन प्रविधिको समेत प्रयोग गरिएको छ।

रसुवा, नुवाकोट र धादिङमा गरी १२ ओटा ड्रोन परिचालन गरिएका छन्। पैदल पुग्न कठिन दुर्गम क्षेत्रमा ड्रोनबाट निगरानी तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, खोजीका लागि ५ ओटा तालिमप्राप्त कुकुर तथा सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा सूचना आदानप्रदान गर्न ७ ओटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्। शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञको विशेष टोलीसमेत खटाइएको छ।
नारायणी आसपास ७५७ प्रहरी परिचालन

बाढीको बहाव पहाडबाट तराईतर्फ झर्दै गएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ।

प्रहरीले भौतिक अवरोध हटाउने, बाढीले बगाएर ल्याएका सामग्री व्यवस्थापन गर्ने तथा प्रभावित क्षेत्रमा राहत वितरण सहजीकरण गर्ने कामसमेत गरिरहेको जनाएको छ।

नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, खोजी तथा उद्धार र राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ। साथै प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।


Read Previous

भोटेकोशी बाढी: ४ हजार २७० जनाको उद्धार, ४ हजार ५९९ अझै बेपत्ता

Read Next

प्रहरी रिपोर्ट: बाढीको मौका छोपेर चोरी र ठगी गर्ने पक्राउ, विभिन्न स्थानमा सेफ फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar