
प्रधानमन्त्री वालेन्द्र शाह।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको बताएका छन्। उनले भोटेकोशी नदीमा आएको बाढी सामान्य घटना नभएको भन्दै यसले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमको संकेत गरेको बताए।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सरकारले बाढी प्रभावितको खोजी, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
उनले प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत पर्वाह नगरी परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आमनागरिकको भूमिकाको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा प्रदेश तथा स्थानीय सरकारले संघीय सरकारलाई दिएको साथ महत्वपूर्ण रहेको उल्लेख गर्दै मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
जलवायु परिवर्तनका कारण जोखिम बढेको संकेत
प्रधानमन्त्री शाहले भोटेकोशी बाढी हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्तिमध्ये एक भएको बताएका छन्।
उनले भनेका छन्, “यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ। त्यसैले यो क्षेत्र सतर्क हुनैपर्छ। सँगसँगै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण हामीले भोग्नु परेको विपद्को विषय बलियो रूपमा उठान गर्नुपर्ने समय आएको छ।”
सरकार अहिले प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा केन्द्रित रहेको र राहत संकलन तथा वितरणलाई पनि प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार काठमाडौँलगायत विभिन्न स्थानबाट संकलन भएका राहत सामग्री प्रभावित नागरिकसम्म पुर्याउने काम भइरहेको छ। भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भएको उनले जानकारी दिएका छन्।
३ हजार ६९६ प्रभावितसम्म राहत
प्रधानमन्त्री शाहका अनुसार सुरक्षाकर्मीले हवाई तथा सडकमार्गबाट रसुवा, नुवाकोट र धादिङका चार ओटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ ओटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याएका छन्।
प्रदेश तथा स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रिय रहेको उनले बताएका छन्।
राहत संकलन तथा वितरण प्रभावकारी भए–नभएको अनुगमनका लागि प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा कर्मचारीलाई समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले बताए।
त्रिशूलीपारिको क्षेत्र सडक सञ्जालमा जोडियो
बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनःसडक सञ्जालमा जोडिएको प्रधानमन्त्री शाहले बताएका छन्।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा आएको उनले जानकारी दिएका छन्।
यससँगै ठूलो सङ्ख्यामा रहेका नागरिकको सदरमुकामसँग पुनःसीधा सडक पहुँच स्थापित भएको र प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुने उनले बताएका छन्।
अस्थायी पुल निर्माणलाई प्राथमिकता
रसुवा, नुवाकोट र धादिङका अधिकांश स्थानमा पुल भत्किएका कारण आवतजावत प्रभावित भएकाले सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार सरकारसँग ४८ मिटर लम्बाइका ६ ओटा र ७० मिटर लम्बाइको एक ओटा बेलिब्रिज उपलब्ध छन्। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको उनले बताए।
भारत सरकारले २३० फिट सिङ्गल लेनको मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको तथा थप ७ ओटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। चीन सरकारले पनि ३० ओटा बेलिब्रिज उपलब्ध गराउने तयारी गरेको उनले बताएका छन्।
पुनःस्थापनाको काम अघि बढाइँदै
खोज तथा उद्धारसँगै सरकारले प्रभावित नागरिकको पुनःस्थापनाबारे पनि काम अघि बढाएको प्रधानमन्त्री शाहले बताएका छन्।
स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको सङ्ख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु भइसकेको उनले बताए।
“हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरूले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ,” प्रधानमन्त्री शाहले भनेका छन्।
उनले प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउने सरकारको लक्ष्य रहेको बताएका छन्। पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत जारी रहेको उनले जानकारी दिएका छन्।








