
दमौली। देवघाटस्थित त्रिशूली नदीमा फेला परेका भोटेकोशी बाढी प्रभावितका शव तनहुँको व्यास नगरपालिका-५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ।
भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवलाई भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि आवश्यक कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिएको जानकारी दिए।
उनका अनुसार शव पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव व्यवस्थापन गरिनेछ। आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ।
तनहुँ क्षेत्रमा हालसम्म ३७ ओटा शव फेला परेका छन्। तीमध्ये २४ ओटा शव पोखरा पठाइएको छ भने १४ ओटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।
शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको प्रशासनले जनाएको छ।
