Nepal Purbadhar

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट सेनाको उद्धार टोली धुन्चे फर्कियो

उद्धारमा खटिएको टोलि।


काठमाडौं। भोटेकोसी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार तत्काललाई असंभव भएको छ।

सुरुङको अन्तिम बिन्दुसम्म खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएपछि खोजी कार्य सम्पन्न गरी उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मानिस सुरुङभित्र फसेको आशंकामा गरिएको खोजीका क्रममा कुनै व्यक्ति फेला नपरेपछि नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो।

तर, नेपाल विद्युत् प्राधिरकणकी सहायक प्रबन्धक आशा खनालले भने आयोजनाको पावरहाउसतर्फ सुरुङभित्र फसेकाको खोजीमा गएको उद्धार टोली सुरुङभित्र प्रवेश गर्न नसकेपछि धुन्चे फर्किएको उल्लेख गरेकी छन्। “पावरहाउसबाट सुखद समाचार आएन। अब सबै आश मर्‍यो। भित्र सबै थुनिएको छ, जान नसकिने जनाएर उद्धार टोली धुन्चे फर्किएको खबर आयो,” खनालले भनेकी छन्।

आयोजनाको पावरहाउसमा लोदो र पानी भरिएका कारण उद्धार टोलीले भित्र प्रवेश गरी खोजी गर्न नसकेको आयोजना स्रोतले बताएको छ। उद्धार गर्न नसकिएपछि आयोजनातर्फ गएको उद्धार टोली धुन्चे फर्किएको आयोजनाको भनाई छ।

सुरुङको अन्तिम भागमा मानिस फसेको आशंका गरिएपछि नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्म पुगेर ड्रोनमार्फत समेत खोजी गरेको थियो।

भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले उक्त बेसिनका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो।


Read Previous

विपद्पछि विदुर-चोगटे-सरमथली-जिरोकिलो वैकल्पिक सडक स्तरोन्नति सुरु

Read Next

तनहुँमा भेटिएका पहिचान नखुलेका शव जङ्गलमा व्यवस्थापन गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar