Nepal Purbadhar

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा


काठमाडौं। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त घोषणा गरेको हो।

सरकारले रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाको १ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

घोषित स्थानीय तहमा रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका रहेका छन्।

त्यस्तै नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका, धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन्।

तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका पनि विपद् संकटग्रस्त क्षेत्रमा परेका छन्।

नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहमा ठूलो क्षति पुगेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राजपत्रमा उल्लेख छ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि ती स्थानीय तहमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका काम प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी सहजता हुनेछ।


Read Previous

बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग

Read Next

पहिचान नभएका शव देवघाटमा व्यवस्थापन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar