
कपिलवस्तु। मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोड रुपैयाँको लागतमा भारद्वाज तेल उद्योग सञ्चालनमा आएको छ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगले राइस ब्रान अर्थात् धानको भुसबाट खाने तेल उत्पादन सुरू गरेको हो।
उद्योगका प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार उद्योगमा ८० जनाले रोजगारी पाएका छन्। उद्योगले वार्षिक ४ हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ।
उपाध्यायले राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक भएको दाबी गरे। उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ समेत मिसाइएको जनाइएको छ।
“मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने।
उद्योगले हाल प्रतिलिटर ३६५ रुपैयाँमा तेल बिक्री गरिरहेको छ।
मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारीको अवसर पाएको बताए।
