
काठमाडौं । साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जना उपभोक्ता जनही १ लाख रुपैयाँ पुरस्कारका लागि छनोट भएका छन् भने एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।
यसपटकको बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जितेका हुन्।
आन्तरिक राजस्व विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने, बिल लिने बानीलाई प्रोत्साहन गर्ने तथा नियमसम्मत कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत दोस्रो पाक्षिक विजेता घोषणा गरेको हो।
यसअघि विभागले साउन १६ देखि ३१ गतेसम्मको कारोबारलाई समेटेर पुरस्कार घोषणा गर्ने जनाएको थियो। दोस्रो पाक्षिक अवधिमा उपभोक्ताको सहभागिता उल्लेख्य रूपमा बढेको विभागले जनाएको थियो।
