Nepal Purbadhar

साउनको दोस्रो करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै

एआई तस्बीर।


काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्न लागेको हो।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारका लागि सहभागी भएका छन्। विभागका अनुसार योजना सुरू भएको पहिलो महिनामै उपहार योजनामा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

विभागका अनुसार साउन १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ ओटा नगद कारोबारका बिल उपहारका लागि दर्ता भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ ओटा मात्रै थियो।

यससँगै क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको सङ्ख्यासमेत उल्लेख्य रूपमा बढेको छ। क्यूआर कारोबारबाट सहभागी हुने कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।

विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ।

यिनै कारोबारमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ। साउन १६ गतेदेखि ३१ गतेसम्मका १६ दिनका लागि एक–एक जना विजेता छनोट हुनेछन्। प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कार रकममा कर कट्टी भएपछि विजेताले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, सहभागी सबै कारोबारमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्ने विभागले जनाएको छ।

आज आयोजना हुने कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा उपहार जित्ने विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ।

नियमसम्मत कारोबारलाई प्रोत्साहन गर्ने, बिल लिने बानीको विकास गर्ने तथा कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।


Read Previous

‘प्राधिकरणको भविष्य तपाईंकै हातमा’ भन्दै कर्मचारीलाई मन्त्रीको ढाडस्, ‘लाइसेन्स राज’अन्त्य गर्ने दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar