Nepal Purbadhar

कांग्रेस इतरको राष्ट्रिय भेलाको नेतृत्व शशांकले गर्ने, ५५१ सदस्यीय आयोजक समिति गठन


काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र देखिएको नेतृत्व संकट, वैचारिक अन्योल र मुलुकको जटिल राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने घोषणा गरेका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत भेलाको तयारी, उद्देश्य तथा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी दिएका हुन्।

उनका अनुसार राष्ट्रिय भेला सम्पन्न गर्न ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। भेलाको तयारीका लागि राजनीतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति, प्रचार–प्रसार, स्वास्थ्य, सुरक्षा, आवास व्यवस्थापनलगायत १६ वटा विभिन्न समिति गठन गरिएको छ।

कोइरालाले राष्ट्रिय भेला पार्टीभित्रको एकता सुदृढ गर्नुका साथै मुलुकका समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा स्पष्ट कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको बताए।

“पार्टीभित्रको वर्तमान अवस्था, मुलूकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक–सांस्कृतिक लगायतका नागरिकका जीवनसँग जोडिएका विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएका हरेक चुनौतीलाई सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं सांगठनिक दृष्टिले स्पष्ट कार्यदिशासहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो,” कोइरालाले भने।

उनले विगत करिब एक वर्षदेखि मुलुकको राजनीति अशान्ति, अनिश्चितता र असहज परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा पनि परेको बताए।

पार्टीभित्र देखिएको मतभेदप्रति संकेत गर्दै उनले नेतृत्व तहबाट अपेक्षित भूमिका निर्वाह हुन नसक्दा राष्ट्रिय भेला आयोजना गर्नुपर्ने अवस्था आएको दाबी गरे।

“पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौं,” उनले भने।

कोइरालाले वर्तमान अवस्थामा राष्ट्रियता, लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानवअधिकारमाथि चुनौती बढ्दै गएको दाबी गर्दै धार्मिक तथा साम्प्रदायिक सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे।

“सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नै हाम्रो परम्परा र राष्ट्रिय एकताको आधार भएकोले आ–आफ्नो ठाउँबाट हिंसा र उत्तेजना भड्किन नदिन तथा समाजमा शान्ति, सद्भाव र सामुदायिक सहिष्णुता कायम राख्न अहम भूमिका खेल्न सबैमा अनुरोध गर्दछु,” उनले भने।

सुनसरीको देवानगञ्ज घटनापछि मधेशका विभिन्न जिल्लामा फैलिएको हिंसाप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै घाइतेको उपचार र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

राष्ट्रिय भेलामा नेपाली कांग्रेसका वर्तमान तथा पूर्व केन्द्रीय पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला नेतृत्व, महासमिति तथा महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, बुद्धिजीवी, लेखक तथा सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ।

“मुलूकको यस्तो विषम परिस्थितिमा राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टीभित्रको बलियो एकतासहित राष्ट्रिय राजनीतिक शक्तिहरूबीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको छ,” कोइरालाले बताए।


Read Previous

खण्डहर बनेको गोदावरी मार्बल, एक दशकदेखि प्रयोगविहीन पूर्वाधार, हराउँदै उद्योगको इतिहास

Read Next

राहदानी आवेदन सोमबारसम्म खुला, तोकिएकै मिति र समयमा उपस्थित हुन विभागको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar