Nepal Purbadhar

८ बुँदे सहमतिपछि पनि सिरहामा कर्फ्यु यथावत, हटाउनेबारे प्रशासनले निर्णय गर्ने


सिरहा, १६ साउन । सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबीच ८ बुँदे सहमति भए पनि सिरहामा जारी कर्फ्यु भने यथावत राखिएको छ।

कर्फ्युका कारण सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ। अत्यावश्यक कामका लागि घरबाहिर निस्कने व्यक्तिलाई सुरक्षाकर्मीले सोधपुछपछि मात्रै आवतजावत गर्न दिइरहेका छन्। सहमति भइसके पनि सडकमा सर्वसाधारणको चहलपहल न्यून रहेको छ भने विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मृतक परिवारसँग सहमति भए पनि कर्फ्यु हटाउने वा केही समय थप निरन्तरता दिने विषयमा जिल्ला प्रशासनको बैठक बस्ने जानकारी दिए। बैठकको निर्णयपछि मात्रै कर्फ्युबारे औपचारिक जानकारी सार्वजनिक गरिने उनले बताए।

यसअघि बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका थिए।

सरकार र मृतक परिवारबीच भएका प्रमुख सहमति:

गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने।
मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने।
परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने।
मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने।
बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने।
छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने।
गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने।

सहमतिअनुसार शुक्रबार (साउन १६ गते) गणेश यादवको दाहसंस्कार गर्ने उल्लेख गरिएको छ। सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।


Read Previous

एलपी ग्यासको अभाव छैन-आयल निगम, टेकुबाट पनि पाँच ब्रान्डका भरी सिलिन्डर बिक्री

Read Next

खण्डहर बनेको गोदावरी मार्बल, एक दशकदेखि प्रयोगविहीन पूर्वाधार, हराउँदै उद्योगको इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar