Nepal Purbadhar

कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन, ‘सुशासनमा सम्झौता नगर्नु, चालु वर्षका कार्यक्रम परिणाममुखी बनाउँ


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सरकारले अघि सारेको सुशासन र शासकीय सुधारको कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएकी छन्। उनले चालु आर्थिक वर्ष २०८३/८४ का कार्यक्रम सुरुदेखि नै परिणाममुखी ढंगले कार्यान्वयन गर्न पनि आग्रह गरेकी छन्।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र कार्यान्वयनमा ल्याइएको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताप्रति धन्यवाद व्यक्त गरिन्।

उनले अघिल्लो आर्थिक वर्षका कमजोरीबाट पाठ सिक्दै चालु वर्षका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाउन र निर्धारित लक्ष्य समयमै हासिल गर्न सबै निकायले नतिजामुखी ढंगले काम गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा गइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै डिजिटल हुन बाँकी रहेका सबै सेवालाई तत्काल अनलाइन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिइन्। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन उनले सचिव तथा विभागीय प्रमुखहरूलाई आग्रह गरिन्।

उनले सुशासन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा सुशासनका विषयमा कुनै सम्झौता नगर्न निर्देशन दिइन्। पूर्ण इमान्दारिता, पारदर्शिता र जिम्मेवारीका साथ कार्यसम्पादन गर्नुपर्नेमा उनले विशेष जोड दिइन्।

चाडपर्व नजिकिँदै गएको सन्दर्भमा मन्त्री यादवले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन्।

त्यसैगरी, औद्योगिक वातावरण निर्माण, व्यापार विस्तार तथा मन्त्रालयको समग्र प्रगतिका लागि आवश्यक नीतिगत सहजीकरण गर्न आफू सधैँ तयार रहेको उल्लेख गर्दै उनले सबै कर्मचारी तथा निकायलाई समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरिन्।

मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, बजेट कार्यान्वयन, मन्त्रालय तथा मातहतका निकायका उपलब्धि, शासकीय सुधारका १०० बुँदे कार्यसूचीको प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, आगामी लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै महाशाखा, विभाग तथा मातहतका निकायबीच नियमित समन्वय र नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको उनले जानकारी दिए।


Read Previous

यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना

Read Next

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ समितिमा पठाउने प्रस्ताव स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar