Nepal Purbadhar

थापाथलीमा तारमा आगलागीपछि मन्त्रीको निरीक्षण, अव्यवस्थित तार व्यवस्थापन अघि बढाइने


काठमाडौं । थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनास्थलको स्थलगत निरीक्षण गरेका छन्। घटनापछि जोखिम न्यूनीकरण तथा तार व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय पनि सुरु गरिएको छ।

बुधबार बिहान घटनास्थल पुगेका मन्त्री श्रेष्ठले अव्यवस्थित तारका कारण जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै तत्काल जोखिमपूर्ण तार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

घटनापछि नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका विद्युत तथा दूरसञ्चारका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने बताएका छन्।

मंगलबार रातिको आगलागीले अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता फेरि उजागर गरेको भन्दै स्थानीयवासीले पनि थापाथलीसहित काठमाडौंका विभिन्न क्षेत्रमा जोखिमपूर्ण तारको व्यवस्थापन प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।


Read Previous

सञ्चारमन्त्रीसँग एआईबिडीका सिइओको भेट, २४औँ सम्मेलनको तयारीबारे छलफल

Read Next

सुनसरी घटनापछि शान्ति र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar