Nepal Purbadhar

इरान, ओमान, साउदी अरेबिया एकै ठाउँ, स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान


तेहरान। इरान, ओमान र साउदी अरेबियाले विश्वकै महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासलाई तीव्र बनाउने सहमति जनाएका छन्।

इरानी विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमद अल बुसाइदी र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल सौदसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए। वार्ताका क्रममा क्षेत्रीय सुरक्षा, सामुद्रिक आवागमन र स्ट्रेट अफ होर्मुजको अवस्थाबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

तीनै देशका विदेशमन्त्रीहरूले क्षेत्रीय स्थायित्व कायम राख्न सहयोग अभिवृद्धि गर्दै संयुक्त कूटनीतिक पहललाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, अमेरिकी आक्रमणपछिको परिस्थितिले स्ट्रेट अफ होर्मुज क्षेत्रमा सिर्जना गरेको असुरक्षा हटाउन समन्वित प्रयास आवश्यक रहेको उनीहरूको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि गत शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानबीच स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्ने विषयमा उच्चस्तरीय वार्ता भएको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार वार्तामा तटीय राष्ट्रहरूको सार्वभौम अधिकारको सम्मान गर्दै समुद्री यातायात व्यवस्थापनका लागि आवश्यक सिद्धान्त र संयन्त्रबारे विचार आदानप्रदान गरिएको थियो।

पछिल्ला महिनाहरूमा अमेरिका र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। अमेरिकी सेनाले इरानमाथि विभिन्न चरणमा सैन्य आक्रमण गरेको दाबी गरिएको छ भने त्यसको प्रत्युत्तरमा तेहरानले अमेरिकी सैन्य अड्डा र अन्य सुविधालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ।

विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा सुरक्षा चुनौती बढेमा अन्तर्राष्ट्रिय तेल आपूर्ति र विश्व व्यापारमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले यस क्षेत्रको सुरक्षा अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।


Read Previous

इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्री नितिन गडकरीद्वारा मेटासहितका प्रविधि कम्पनीविरुद्ध मुद्दा

Read Next

पहिरोको जोखिमपछि मुग्लिन-नारायणगढ सडकमा राति सवारी सञ्चालन गर्न रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar