
काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विद्युत् सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने घोषणा गरेपछि उपभोक्तामा देखिएको अन्योलबारे नेपाल विद्युत् प्राधिकरणले स्पष्टिकरण दिएको छ। प्राधिकरणले २०८३ असार मसान्तसम्म भएको विद्युत् खपतमा भ्याट नलाग्ने जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै २०८३ साउन ७ गतेदेखि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको र आन्तरिक राजस्व विभागको निर्देशनअनुसार साउन ९ गतेदेखि जारी हुने विद्युत् महसुलको बिलमा भ्याट समावेश गर्न थालिएको जनाएको छ।
प्राधिकरणका अनुसार मासिक बिलिङ प्रणालीका कारण असार महिनामा खपत भएको विद्युत्को बिल साउनमा जारी हुने भएकाले असारको खपतमा पनि भ्याट लाग्ने हो कि भन्ने अन्योल उत्पन्न भएको थियो। त्यसपछि प्राधिकरणले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयसँग राय मागेको थियो।
आन्तरिक राजस्व विभागले दिएको स्पष्टिकरणअनुसार २०८३ असार ३२ गतेसम्म भएको विद्युत् खपतमा भ्याट लाग्दैन, तर २०८३ साउन १ गतेदेखि भएको विद्युत् खपतमा भने ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था लागू भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अत्यावश्यक आवश्यकताका वस्तु अन्तर्गत पर्ने विद्युत् शक्तिमा साउन १ गतेअघि भएको उपभोगमा भ्याट नलाग्ने कानुनी व्यवस्था रहेकाले यदि त्यस्तो अवधिको बिलमा भ्याट रकम समावेश भएको भए त्यसलाई अग्रिम भुक्तानीका रूपमा राखिनेछ।
उक्त अग्रिम भ्याट रकम आगामी भदौ महिनाको विद्युत् महसुल बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि विद्युत् सेवामा ५ प्रतिशत भ्याट लागू गर्ने घोषणा गरेसँगै उपभोक्ताले साउनमा प्राप्त बिलमा भ्याट समावेश भएको भन्दै विभिन्न जिज्ञासा उठाएका थिए। प्राधिकरणको पछिल्लो सूचनाले असारसम्मको खपतमा भ्याट नलाग्ने र साउनदेखि भएको खपतमा मात्र नयाँ व्यवस्था लागू हुने स्पष्ट पारेको छ।
