
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका-२, घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त रकम स्वीकृत गरेको हो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका-२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि दुर्घटना भएको थियो।
प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति तथा औषधोपचार खर्च भुक्तानी गर्दै आएको छ।
विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार खर्च विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाख रुपैयाँभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको बताए।
‘मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुन्छ। यो रकमले पीडा भुलाउने त होइन, तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ,’ उनले भने।
मन्त्री श्रेष्ठले बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था भइरहे पनि पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटना न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज दुवै सचेत हुनुपर्ने बताए।
हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षतिको तथ्यांक डरलाग्दो रहेको उल्लेख गर्दै उनले प्राधिकरणलाई आफ्ना संरचनाको मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी, सुरक्षा सतर्कता तथा नागरिकमा जनचेतना र पूर्वसूचनाका कार्यक्रमलाई तीव्रता दिन निर्देशन दिए।
विद्युतीय दुर्घटना न्यूनीकरण गर्न नागरिकको सचेतना पनि उत्तिकै अपरिहार्य रहेको मन्त्री श्रेष्ठको भनाइ छ।

