
रसुवा। चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको यार्ड लेन्दे खोलाको विनाशकारी बाढीले क्षतिग्रस्त भएको एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनःस्थापना हुन सकेको छैन। सीमित पूर्वाधार र अस्थायी व्यवस्थापनकै भरमा व्यापारिक गतिविधि सञ्चालन भइरहेका छन्।
गत वर्ष असारमा चीनतर्फको लेन्दे खोलाबाट आएको भीषण बाढीले भन्सार यार्ड, निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी), तटबन्ध तथा नेपाल–चीन जोड्ने मितेरी पुलमा ठूलो क्षति पुर्याएको थियो। बाढीले करोडौँ रुपैयाँ बराबरका मालवस्तु बगाउनुका साथै मानवीय क्षति पनि भएको थियो।

रसुवा भन्सार कार्यालयका अधिकृत प्रेम सुवेदीका अनुसार बाढी आएको रात कर्मचारी, सुरक्षाकर्मी र चालकहरूले ज्यानको जोखिम मोलेर राजस्व तिर्न आएका मालवाहक सवारीसाधन सुरक्षित स्थानमा सार्ने प्रयास गरेका थिए।
“बाढी आएपछि ठूलो गर्जन सुनियो। त्यसपछि कर्मचारी र सुरक्षाकर्मी सबै मिलेर गाडीहरू माथि सार्ने प्रयास गर्यौँ। केही गाडी बचाउन सफल भयौँ तर केही गाडी, चालक र खलासी बाढीमा बगे। करोडौँ रुपैयाँका मालवस्तु पनि नष्ट भए,” उनले भने।
बाढीपछि मंसिरमा अस्थायी रूपमा मितेरी पुल पुनर्निर्माण गरिएपछि आयात–निर्यात पुनः सञ्चालनमा आए पनि भन्सार यार्ड अझै जोखिमपूर्ण अवस्थामा रहेको छ। यार्डभित्र बाढीले ल्याएका ठूला ढुङ्गा, क्षतिग्रस्त संरचना तथा अस्थायी व्यवस्थापनकै भरमा काम भइरहेको छ।

रसुवागढी नाकाबाट मुख्य रूपमा तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूल, ड्राइफ्रुट्स तथा विद्युतीय सवारीसाधन (ईभी) आयात हुने गरेका छन्। डिजेल र पेट्रोलबाट चल्ने सवारी भने यस नाकाबाट आयात हुँदैनन्।
अधिकृत सुवेदीका अनुसार बढ्दो ईभी आयात व्यवस्थापन गर्न पर्याप्त समथर भूमि नहुँदा सडक किनार तथा स्थानीयको खाली जग्गा भाडामा लिएर सवारी राख्नुपर्ने अवस्था छ। “दुईतिर अग्ला पहाड छन्, बीचमा समथर जमिन छैन। ईभी गाडी सडकको साँघुरो भाग र स्थानीयको जग्गामा राख्नुपरेको छ। माथिबाट ढुङ्गा खस्ने जोखिम सधैँ रहन्छ,” उनले बताए।

उनका अनुसार चीनले नेपाली बजारको मागअनुसार मौसमी सामग्री पनि निर्यात गर्दै आएको छ। विश्वकपका बेला खेलकुद सामग्री, तिहारमा बत्ती र दियो तथा होलीमा रङलगायतका सामग्री ठूलो परिमाणमा यही नाकाबाट भित्रिने गरेका छन्।
भन्सार कार्यालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै चीन सरकारको निर्माण टोलीसँग समन्वय गरेर अस्थायी तटबन्ध निर्माणको पहल गरिरहेको जनाएको छ। साथै चीन सरकारको अनुदानमा निर्माणाधीन स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले पहिरो व्यवस्थापन र सडक मर्मतमा सहयोग पुर्याइरहेको कार्यालयको भनाइ छ।

भौगोलिक विकटताका कारण वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने तथा हिउँदमा हिमपातका कारण आवागमन प्रभावित हुने समस्या अझै कायमै रहेको छ। सुरक्षालाई ध्यानमा राख्दै बेलुका ७ बजेपछि मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ६ बजेपछि मात्रै गाडी सञ्चालन गर्न दिइने व्यवस्था लागू गरिएको भन्सार कार्यालयले जनाएको छ।
नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको रसुवागढी नाकामा पूर्वाधार पुनर्निर्माणले गति लिन नसक्दा बाढीको एक वर्षपछि पनि व्यापारिक गतिविधि जोखिमकै बीच सञ्चालन भइरहेको छ।


