Nepal Purbadhar

गोदावरीको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनी, मुख्य सभाहल ध्वस्त


गोदावरी। ललितपुरको गोदावरीस्थित सरकारी सभासम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ। सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ।

सरकारी संरचना भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तथा भदौ २० देखि २२ गतेसम्म नेकपा (एमाले) को विधान महाधिवेशन यही हलमा आयोजना गरिएको विषयलाई बहाना बनाएर प्रदर्शनकारीहरूले सम्मेलन केन्द्रलाई निसाना बनाएको बताइएको छ।

गोदावरीको ४३ रोपनी १५ आनामा निर्माण गरिएको सम्मेलन केन्द्रमा करिब तीन हजार दर्शक तथा सहभागी अट्ने क्षमता छ। शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री ओलीबाट भवनको शिलान्यास गराएको थियो भने २०७८ वैशाख ३१ गते ओलीले नै भर्चुअल माध्यमबाट यसको उद्घाटन गरेका थिए।

सुरुमा करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको परियोजनाको लागत बढेर झन्डै ८१ करोड रुपैयाँ पुगेको थियो। केसीसमानान्तर जेभीले निर्माणको ठेक्का पाएको यस परियोजनाको निर्माण अवधि दुई पटक थप गरिएको थियो।

२०७८ असारदेखि सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति मार्फत सञ्चालन हुँदै आएको थियो। सम्मेलन केन्द्रका लागि मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको विषय पनि यसअघि उठ्दै आएको थियो।

सरकारी कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सभासम्मेलन सञ्चालनका लागि निर्माण गरिएको यस आधुनिक पूर्वाधारमा भएको क्षतिले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ।


Read Previous

प्रसारण पूर्वाधार विकासमा ग्रीड कम्पनी र इप्पानको सहकार्य, निजी–सरकारी साझेदारी नयाँ चरणमा

Read Next

भन्सार र राजस्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन: ‘मिसन १६ खर्ब राजस्व’ सफल बनाउन इमानदार हुनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar