Nepal Purbadhar

हिमाली हावा र हिमशृङ्खलाको अनुपम अनुभव दिने ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’


सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा निर्माणाधीन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्रा मार्ग मात्र होइन, प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्वितीय संगमका रूपमा विकसित हुँदै गएको छ। ह्योल्मो परम्पराअनुसार ‘धर्मचक्र पर्खाल’ नामले चिनिने यो पदमार्गले यात्रुलाई शान्त वन, स्वच्छ हिमाली हावा, धार्मिक सम्पदा र मनोरम हिमशृङ्खलाको अविस्मरणीय अनुभव प्रदान गर्छ।

Great Wall of Helambu. Photo: Nepal Photo Library

ट्रेलका विभिन्न बिन्दुबाट सेमेसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक र गौरीशंकरलगायत दर्जनौँ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मार्गभरि निर्माण गरिएका चैत्य, प्राकृतिक हरियाली र हिमाली भू-दृश्यले प्रत्येक यात्रालाई विशेष बनाउने अपेक्षा गरिएको छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार विश्वप्रसिद्ध चीनको ग्रेट वालको अवधारणाबाट प्रेरित भएर ह्योल्मो भूमि हेलम्बुलाई घेर्ने गरी ६० किलोमिटर लामो ‘ग्रेट ट्रेल’ निर्माण गर्ने योजना अघि बढाइएको हो। हालसम्म करिब सात किलोमिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ।

Great Wall of Helambu. Photo: Nepal Photo Library

‘६० किलोमिटरमध्ये सात किलोमिटर निर्माण गरिसकेका छौँ। यहाँ पुग्ने जो-कोही पनि प्राकृतिक सौन्दर्य देखेर प्रभावित हुने गरेका छन्,’ अध्यक्ष शेर्पाले भने, ‘यो हेलम्बु गाउँपालिकाको गौरवका योजनामध्ये एक महत्त्वपूर्ण परियोजना हो।’

यो पर्यटकीय पदमार्ग बुद्धपार्कबाट सुरु भई सेर्माथाङ र ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका तथा हेलम्बुको सीमामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आमायाङ्ग्री पर्वतसम्म पुग्नेछ। साथै डुपु-भेमाथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दवालाङ्ग गुफा र सेमेसिदाङ क्षेत्रलाई पनि यसले समेट्नेछ।

Great Wall of Helambu. Photo: Nepal Photo Library

ट्रेलको सम्पूर्ण निर्माण सम्पन्न भएपछि यात्रुले हेलम्बुका अधिकांश धार्मिक तथा सांस्कृतिक स्थलको परिक्रमा गर्न सक्नेछन्। साथै सम्पूर्ण क्षेत्रको मनोरम दृश्यावलोकन गर्दै प्राकृतिक तथा आध्यात्मिक पर्यटनको अनुभव एकै यात्रामा लिन सकिनेछ।

समुद्री सतहबाट करिब २ हजार ५०० मिटरदेखि ५ हजार मिटर उचाइसम्म फैलिएको यो पदमार्ग पूरा भएपछि पैदल यात्रामार्फत पूरा दूरी पार गर्न करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ। प्रत्येक दिन नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकता बोकेको यो ट्रेल भविष्यमा नेपालको प्रमुख हिमाली पदयात्रा गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Great Wall of Helambu. Photo: Nepal Photo Library

नेपाल फोटो लाइब्रेरी


Read Previous

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड, पर्यटन राजधानीमै ‘पर्यटन बजेट’ कम

Read Next

तनहुँ जलविद्युत आयोजनाद्वारा प्रभावित क्षेत्रमा सात योजना निर्माणाधीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar