
काठमाडौं । निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सक्रिय एम.ए.डब्लु. अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी उपकरण खरिदकर्तालाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार जेसीबी लगायत निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले उपकरणको कुल मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई छिटो र ग्राहकमैत्री बनाउन आवश्यक सम्पूर्ण कागजात पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर (डीओ) जारी गर्ने व्यवस्था गरिएको छ। यसबाट ग्राहकले समयमै उपकरण प्राप्त गरी आफ्नो व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सक्ने विश्वास गरिएको छ।
दुवै संस्थाबीचको यो रणनीतिक सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई उपकरण खरिदका लागि आवश्यक वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, वित्तीय प्रक्रियामा लाग्ने समय र झन्झट कम गर्दै व्यवसाय विस्तारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकले आगामी दिनमा पनि ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई केन्द्रमा राखेर नवीन तथा ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै पक्षले यो सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरेका छन्।
