Nepal Purbadhar

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तनहुँ, गोरखा र चितवनमा विद्युत् सेवा प्रभावित

सांकेतिक तस्वीर


दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्किचोक २२०/१३२/३३ केभी सबस्टेसनमा प्राविधिक समस्या देखिएपछि तनहुँ, गोरखा र चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या उत्पन्न हुँदा अत्यधिक करेन्ट प्रवाह भएको थियो। त्यसपछि हिजो साँझ ५ः३२ बजेदेखि विद्युत् सेवा प्रभावित बनेको हो।

उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ।

समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो। टोलीले राति १२:४५ बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६:४७ बजे ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले बताए।

उनका अनुसार हाल वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। ट्रान्सफर्मर मर्मत सम्भव भए मर्मत गरिने र आवश्यक परे नयाँ ट्रान्सफर्मर जडान गर्ने तयारी गरिएको छ।

हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको काम गरिरहेको छ।


Read Previous

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक तथा औद्योगिक अवस्थामाथि छलफल

Read Next

एक महिनादेखि मन्त्रीविहीन गृह मन्त्रालय, सुरक्षा र प्रशासनिक समन्वयमा असर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar