
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ)ले नेपालको आर्थिक तथा औद्योगिक अवस्थामाथि छलफल कार्यक्रम सम्पन्न गरेको छ। सीएनआईवाइईएफ काठमाडौंमा “नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण” विषयमा उच्च स्तरिय अन्तर्क्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती, औद्योगिक विकासका सम्भावना तथा नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा युवा उद्यमी, नीति विज्ञ तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो। छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालय सम्हालेका पूर्वमन्त्री अनिलकुमार सिन्हा र पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल प्यानलिस्टका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायतको उपस्थिति रहेको थियो भने सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण आवश्यक रहेको बताए। उनले अनुभवी नीति निर्माता र युवा उद्यमीबीचको दूरी घटाउन मञ्च प्रतिबद्ध रहेको उल्लेख गरे।
छलफलका क्रममा संघीय वित्तीय प्रशासनका चुनौती, औद्योगिक क्षेत्रमा रहेका कानुनी जटिलता तथा व्यापारिक वातावरणमा देखिएका परिवर्तनबारे विमर्श गरिएको थियो। प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि तथा सेवा क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानी वातावरणका विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रमको समापन मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले गरेका थिए। उनले सहभागी विज्ञ तथा अतिथिहरूलाई धन्यवाद दिएका थिए।
