
काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेको आरोपमा उनीहरूलाई पक्राउ गरी सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनसँग सम्बन्धित पीताम्बर बडुलाई काठमाडौंको गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले सहरी विकास मन्त्रालयको अनुरोधपछि दुवैलाई नियन्त्रणमा लिएर मन्त्रालयमा बुझाइएको जानकारी दिए ।
मन्त्रालयले आफूहरूसँग भएको ठेक्का सम्झौताअनुसारको काम निर्धारित समयभित्र पूरा नगरेको भन्दै उनीहरूलाई उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो ।
