
काठमाडौं । भारतबाट सुक्खायामका लागि आयात हुने बिजुली थप महंगो पर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले भारतसंग थप महँगोमा बिजुली किन्न सहमति गरेका हुन् ।
फागुन २९ गते पोखरामा बसेको नेपाल-भारत विद्युत आदान-प्रदान समिति (पीईसी) को १७ औँ बैठकले बिजुलीको भाउ १.५ प्रतिशतले बढाउने निर्णय गरेको हो । दुई दिने वार्ताका क्रममा यस वर्ष भारतले आफ्नै लागतमा वृद्धि भन्दै ५.५ प्रतिशतले विद्युत खरिद दर (नेपालबाट विद्युत खरिद गरिने दर) वृद्धि गर्नु पर्ने अडान राखेको थियो भने नेपालको पक्षबाट गरिएको अध्ययनका क्रममा भारतीय विद्युत बजारमा खरिददर घटेको देखाएको भन्दै विद्युत खरिद दर घटाउनु पर्ने तर्क अघि सारिएको थियो ।
अन्तत: बैठकमा दुवै पक्षबीच गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । जस अनुसार चालु वर्षका लागि १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८.२२ रुपैयाँ कायम गरिएको छ । त्यसै गरी ३३ केभी स्तरमा खरिद गरिने विद्युतको दर प्रति युनिट रु. ८.९१ र ११ के.भी. स्तरमा रु. ९.५५ कायम गरिएको छ । साथै विद्युत खरिद दरको संरचना सम्बन्धी विषयमा आगामी वर्ष पुनः वार्ता गर्ने सहमति भएको छ। उक्त सहमतिपश्चात आगामी चैत र वैशाख महिनामा पर्ने सुख्खा मौसममा विद्युत आपूर्तिको सुनिश्चितता हुने अपेक्षा गरिएको छ। हाल नेपाल विद्युत प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा (MWh) विद्युत आयात गरिरहेको छ र आगामी दिनमा सो परिमाण अझ बढ्ने अनुमान गरिएको छ। पछिल्लो इजरायल, इरान र मध्यपूर्वमा भइरहेको युद्धका कारण क्षेत्रीय ऊर्जा बजारमा देखिएको दबाबले विद्युत आपूर्तिमा थप चाप पर्ने सम्भावना रहेकाले समयमै भएको यस सहमतिले आपूर्ति व्यवस्थापनमा ठुलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
६.९५ रुपैयाँमा भारतबाट बिजुली आयात गर्ने निर्णय गरेका तत्कालन ऊर्जामन्त्री कुलमान घिसिङ र कार्यकारी निर्देशक मनोज सिलवालको विरोध गरेर अफवाह फैलाएका शाक्यले ८.९१ रुपैयाँ र ९.५५ रुपैयामा बिजुली
किन्न सहमति गरेका हुन् । शाक्यले घिसिङको बदनाम गर्न सस्ता बिजुली ल्याउने भन्दै अवाह फैल्याएका थिए । ७५ पैसा प्रतियुनिट महँगो तिरेर ६.९५ रुपैयाँमा खरिद गर्न लागेको भन्दै घिसिङको बदनाम गर्न खोजेका शाक्यले त्यो भन्दै धेरै महँगो अर्थात ९.५५ रुपैयाँसम्ममा खरिद गर्न लागेका हुन् । ‘कुलमान र मनोज सरले सहमति गरेका कारण अहिले १८० मेगावाट बिजुली ६.९५ रुपैयाँमा आइरहेको छ । शाक्यले प्रस्ताव ल्याए पनि बिजुली ल्याउन नसकिने प्रुस्ताव थियो । महँगो भयो भनेर आलोचना गर्ने शाक्यले धेरै महाँगोमा बिजुली किन्न सहमति गरेका छन्,’’ ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने, ‘ दुई तिहाईको सरकार बन्न लागेका बेला महँगोमा आगामी वर्षका लागि बिजुली किन्न लागिएको छ । यस्ता व्यक्तिले प्राधिकरणलको नेतृत्व सम्हाल्न सक्ने कुरामा नै शंका छ । ‘
पीइसी बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले नेतृत्व गरेका थिए भने भारतको तर्फबाट केंद्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले नेतृत्व गरेका थिए । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत खरिद दरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव श्री संजीव राय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव शेखर सुमनको पनि उक्त बैठकमा उपस्थिति रहेको थियो ।
