
काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजना सफलतापूर्व सञ्चालनमा आएर राष्टिय प्रसारण प्रणालीमा जोडिएको छ ।
सबै खालको परीक्षण सकेर आयोजनाको बिजुली प्रणालीमा जोडिएको हो ।
ठूलो खोला हाइड्रोपावर लिमिटेडले प्रवर्धन गरेको यो आयोजना म्याग्दीको रघुगंगा-७ मा निर्माण भएको छ । २०७८ सालको अन्तिमबाट आयोजनासम्म पुग्ने सडक निर्माण सुरु भएको थियो । २०८० साल बैशाखबाटमुख्य सिभिल संरचना निर्मा थालिएको थियो ।
निर्माण स्थल भौगोलिक दृष्टिले विकट र दुर्गम क्षेत्रमा रहेको छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २,९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ। फेदीमा विद्युत्गृह निर्माण भएको छ भने विद्युत्गृह परिसरमा ‘स्वीचयार्ड’ पनि तयार पारिएको छ ।
ठूलो खोला जलविद्युत् आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको छ। फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन तयार गरिएको छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरी तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।

निर्माणका मुख्य ठेकेदारहरूमा देव ऊर्जा कन्ट्रक्सन (सिभिल), हाइड्रोमेकानिकल, र बिएफएल बेङ्गलोर (इलेक्ट्रोमेकेनिकल) रहेका छन् । तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्धकको १० प्रतिशत लगानी रहने योजनामा २० प्रतिशत शेयर सर्वसाधारणमार्फत जारी गरिनेछ ।
देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले आयोजना सफलतापूर्वक सञ्चालनमा आएर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको जानकारी साझा गर्न पाउँदा अत्यन्त हर्ष र गर्वको अनुभूति बताए ।

‘यो हाम्रो तेस्रो जलविद्युत आयोजना हो, जसले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु। यस महत्वपूर्ण उपलब्धि सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण सरोकारवालाहरू, आदरणीय शेयरधनीहरू तथा हाम्रो समर्पित कर्मचारीहरू प्रति म हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्दछु। उहाँहरूको अथक परिश्रम, प्रतिबद्धता र विश्वासले नै यो आयोजना सफलतापूर्वक सम्पन्न हुन सकेको हो,”उनले भने, ‘यस आयोजनाको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सिटिजन्स बैंक (लिड बैंक), माछापुच्छ्रे बैंक तथा कृषि विकास बैंक लिमिटेडप्रति म विशेष धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु।‘

त्यसैगरी उनले विद्युत प्राधिकरण, विद्युत विकास विभाग, विद्युत नियमन आयोग तथा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूबाट प्राप्त निरन्तर सहयोग, समन्वय तथा मार्गदर्शनका लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।

आयोजनाको सिभिल, मेकानिकल तथा ट्रान्समिसन लाइन सम्बन्धी कार्यहरू उच्च व्यावसायिकता र दक्षताका साथ सफलतापूर्वक सम्पन्न गरेकोमा देव ऊर्जा कन्स्ट्रक्सन प्रालि को सम्पूर्ण टोलीलाई विशेष धन्यवाद व्यक्त गरे ।
यसैगरी, प्राविधिक परामर्श प्रदान गर्ने क्लिन इनर्जी कन्सल्ट्यान्स प्रालि का टोलीप्रति पनि विशेष आभार व्यक्त गरेका छद्द् । ‘विशेषतः श्री मणि दाहाल सर र श्री सन्तोष ढकाल सरको नेतृत्वमा प्रदान गरिएको प्राविधिक परामर्शका लागि। साथै, वित्तीय परामर्शदाताको रूपमा महत्वपूर्ण योगदान पुर्याउनुहुने नारायण पौड्याल सर प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

आयोजनाका गेट तथा अन्य मेटल वर्कहरू समयमै गुणस्तरीय रूपमा सम्पन्न गरेकोमा सीबीएम कम्पनी प्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । ‘यो उपलब्धि धेरै व्यक्ति तथा संस्थाहरूको सामूहिक प्रयास, समर्पण र दृढ प्रतिबद्धताको परिणाम हो। सबैको साथ, सहयोग र विश्वासका लागि पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

