Nepal Purbadhar

रास्वपालाई शुभकामना दिँदै कुलमानले भने : राम्रो काममा साथ, गलतमा खबरदारी


काठमाडौं । कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनपछि मतदाताप्रति आभार व्यक्त गर्दै उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने बताएका छन्।
घिसिङले वक्तव्य जारी गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको जेन–जी विद्रोहपछि सम्पन्न चुनावमा नयाँ शक्तिका रूपमा उदाएको उज्यालो नेपाल पार्टीप्रति माया, विश्वास र आशा राख्दै देशभरि आफ्ना उम्मेदवारलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।


उनले चुनावी अभियानमा खटिने पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीप्रति विशेष आभार व्यक्त गर्दै विषम परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने सरकार, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद दिएका छन्।
घिसिङले यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर भएको उल्लेख गरेका छन्।


देशलाई नाराभन्दा दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउँदै उनले विकासको गति सुस्त हुनुको प्रमुख कारण निर्णय क्षमताको अभाव, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने प्रणाली तथा कमजोर कार्यान्वयन भएको बताएका छन्।


ऊर्जा क्षेत्रको अनुभव उल्लेख गर्दै उनले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरी करिब ५८ प्रतिशत घरधुरीमा सीमित रहेको विद्युत् पहुँचलाई ९९ प्रतिशतसम्म पुर्‍याउने काम भएको बताएका छन्। साथै नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्ने आत्मविश्वास दिलाइएको उनले उल्लेख गरेका छन्।


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने तथा बाढीले क्षति पुर्‍याएका सडक पुनः सञ्चालन गर्ने जस्ता काम अघि बढाइएको उनले बताएका छन्।
त्यसैगरी बुढीगण्डकी जलविद्युत आयोजना, माथिल्लो अरुण जलविद्युत आयोजना र किमाथांका अरुण जलविद्युत आयोजनाजस्ता ठूला आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय हुनु महत्वपूर्ण उपलब्धि भएको पनि उनले बताएका छन्।


घिसिङले आफूहरू काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको उल्लेख गर्दै लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जिते पनि यसपटक मतमा जित्न नसकेको बताएका छन्। तर चुनावमा हार प्राविधिक विषय मात्र भएको उनको भनाइ छ।
परिवर्तनको अपेक्षासहित जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिएको उल्लेख गर्दै उनले सुशासन कायम गर्दै देशको आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै राम्रो कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले रचनात्मक रूपमा खबरदारी गर्दै जाने उनले बताएका छन्।


Read Previous

एसियन हाइवे निर्माणले गति लिँदै

Read Next

पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar