
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भू–सेवा तथा भू–सूचना प्रणालीलाई प्रारम्भिक चरणमा १० वटा वडाबाट परीक्षणका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ४७ औँ कार्यपालिका बैठकले यससम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो।
महानगरपालिकाका अनुसार वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सुरु गरिनेछ। नमूना कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा आवश्यक जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापन गरी सेवा क्रमशः अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको छ।

यस प्रणालीमार्फत चारकिल्ला र घरबाटो शिफारिसजस्ता सेवासँगै अब भूमिसम्बन्धी स्वामित्व र हक अधिकारका विषय, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा वडा कार्यालयबाटै उपलब्ध गराइनेछ। सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन, नागरिक गुनासो सहजीकरण तथा सम्पत्ति रोक्का वा फुकुवा प्रक्रियामा वडा तहबाटै सिफारिस गर्ने व्यवस्था पनि मिलाइनेछ।
बैठकले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो रहेको भवन महानगरपालिकाले प्रयोग गर्ने सहमति भएको जानकारी दिँदै रामशाहपथमा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले प्रयोग गरिरहेको जग्गा सरकारको नाममा दर्ता गर्न महानगरको सहमति प्रदान गर्ने निर्णय समेत गरेको छ। बाढ्गेमुढास्थित जग्गासम्बन्धी मुद्दामा अदालतबाट महानगरको पक्षमा फैसला आएपछि उक्त जग्गाको उपयोग र व्यवस्थापनका लागि नेपाल सरकारसँग अनुमति माग्ने निर्णय पनि गरिएको छ।

बैठकमा उठेका विषयमाथि प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनसम्बन्धी प्रतिवेदन अध्ययन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको थियो। वडा नं. २२ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आउन बाँकी रहेको सांस्कृतिक द्यः छेँ सञ्चालनसम्बन्धी अध्ययनको जिम्मेवारी वडा नं. २३ का अध्यक्षलाई दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी प्रोत्साहन, मानव स्रोत विकास, पूँजीगत खर्च वृद्धि, बेरुजु न्यूनीकरण तथा पुराना बेरुजु फर्छ्योट गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।
बैठकमा प्रशासन, स्वास्थ्य र सार्वजनिक निर्माण क्षेत्रसँग सम्बन्धित १० वटा प्रस्ताव तथा विविधका २ वटा विषयमाथि छलफल भएको थियो। सदस्यहरूले स्वास्थ्य बीमा कार्यक्रमबारे देखिएको अन्यौल हटाउन, सरसफाइका लागि आवश्यक जनशक्ति व्यवस्थापन, तार व्यवस्थापनको एकीकृत योजना, बाढी पूर्वतयारी, ज्येष्ठ नागरिकलाई घरमै सेवा, वालाजु बाइसधाराको पौडी पोखरी सञ्चालन, सहकारी समस्या समाधान संयन्त्र तथा सडक बत्ती योजना कार्यान्वयनजस्ता विषय उठाएका थिए।

बैठकले वडा नं. २२ का पूर्व वडाध्यक्ष माणिकरत्न स्थापित र काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।



