
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (एनईए) ले आगामी अप्रिल र मे महिनाका लागि भारतबाट अल्पकालीन रुपमा १०० मेगावाट बिजुली खरिद गर्न ठेक्का आह्वान गरेको छ ।
बिजुली अपुग भएर लोडसेडिङ हुने अवस्था आएपछि प्राधिकरणले भारतबाट दुई महिनाका लागि १०० मेगावाट बिजुली ल्याउन लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सञ्चालक समितिमा भारतबाट बिजुली ल्याउन नसके लोडसेडिङ हुने जानकारी गराएका थिए । उक्त जानकारीपछि सञ्चालक समितिले जसरी जुन विधिबाट भएपनि बिजुली ल्याउन शाक्यलाई अनुमति दिएको थियो । सञ्चालक समितिबाट अनुमति पाएपछि शाक्यले टेण्डर निकालेर बिजुली ल्याउन लागेका हुन् । ‘शाक्य सरले लोडसेडिङ हुन्छ भन्नु भयो । लोडसेडिङ कुनै हालतमा हुन दिनुहुदैन बरु जसरी जुन विधिबाट भएपनि ल्याउनुस् भनेर निर्देशन दियौं,’ सञ्चालक समिति एक सदस्यले भने, ‘महँगोमा कुलमानले बिजुली ल्याउन लाग्यो भनेर बदनामीमा लाग्नु भयो । कुलमानले समयमा निर्णय नगरिदिएको भए अहिले लोडसेडिङ हुने रहेछ ।१८० मेगावाटले प्राधिकरणलाइ ठूलो राहात दिएको छ।‘
शाक्यले यस अघि पनि सूचना निकालेर बिजुली खरिद गर्न खोजेका थिए तर कुनै पनि आवेदन नपरेपछि रद्ध गरिएको हो । ‘भारतमा पनि गर्मी बढ्छ । हामीलाई त्यो समय अत्यन्त सुक्खा हुने भएकाले बिजुली चाहिन्छ । भारतबाट ल्याउन सकिएन भने समस्या हुन्छ । उता पीइसीको पनि नवीकरण भएको छैन्,’ प्राधिकरणका एक इन्जिनियरले भने,’भारतबाट बिजुली ल्याउन नसक्दा हामीलाई लोड व्यवस्थापन गर्नै चूनौती हुन्छ ।’
प्राधिकरणले शुक्रबार प्रकाशित सूचनामार्फत सन् २०२६ अप्रिल १ देखि मे ३१ सम्म ‘राउन्ड द क्लक’ (आरटीसीमा) आधारमा खुला पहुँच (ओपन एक्सेस) मार्फत विद्युत् खरिद गर्न बोलपत्र आह्वान गरेको हो ।
सूचना अनुसार विद्युत् खरिदका लागि इच्छुक भारतीय युटिलिटी, उत्पादक तथा ट्रेडिङ कम्पनीहरूले फेब्रुअरी २२ तारिख दिउँसो १२ बजेसम्म दरभाउपत्र पेश गर्न सक्नेछन् भने सोही दिन दिउँसो २ बजे दरभाउपत्र खोलिनेछ ।
प्राधिकरणले अधिकतम १०० मेगावाटसम्म विद्युत् खरिद गर्ने गरी बोलपत्र आह्वान गरेको छ। विद्युत् आपूर्ति २५–२५ मेगावाटका गुणकमा प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित दर एकरूप हुनुपर्नेछ र वैशाख तथा जेठ दुवै महिनाका लागि एउटै दर लागू हुनेछ।
दरभाउपत्रमा सहभागी हुने कम्पनीहरूले अधिकतम प्रतियुनिट ६.९० भारतीय रुपैयाँसम्मको दर प्रस्ताव गर्न सक्ने प्रावधान राखिएको छख । यसभन्दा बढी दर प्रस्ताव गर्ने बोलपत्र स्वतः अयोग्य हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भारतको बिहारस्थित मुजफ्फरपुर सबस्टेसनको ४०० केभीमा विद्युत् आपूर्ति लिने व्यवस्था गरेको छ। सो बिन्दुसम्मका प्रसारण शुल्क, क्षति तथा सम्बन्धित शुल्क विक्रेताले बेहोर्नुपर्नेछ भने त्यसपछि नेपालतर्फका खर्च प्राधिकरणले व्यहोर्नेछ।
अहिले भारतबाट झण्डै ७ सय मेगावाटसम्म आयात भइरहेको छ ।
1770954658_NEA-Purchase-Sealed-Quotaion-100-13Feb2026नेपालका अधिकांश जलविद्युत आयोजनाहरु नदी प्रवाही छन् । सोही कारण हिउँदमा उत्पादन ३० प्रतिशतमा सीमित हुने लोड व्यवस्थापन गर्न ठूलो मात्रमा बिजुली आयात गर्नुपर्छ । वर्खामा सरप्लस हुने बिजुली भारतीय बजारमा बेच्नैपर्छ । बेच्न नसके खेर जाने अवस्था छ ।
हरेक वर्ष हिउँदको संकट टार्न प्राधिकरणले भारतबाट ब्ल्याक इनर्जी आयात गर्ने गर्छ ।
