
सांकेतिक तस्बिर
काठमाडौं । सडक विभागले अघिल्ला वर्षहरु जस्तै दशै अघि सडकका खाल्डाखुल्डी टाल्ने काम थालेको छ ।
वर्षेनी दशैभन्दा अघि देशभरमा राजमार्ग र शहरी क्षेत्रका सडकमा रहेका खाल्डा खुल्डी टाल्ने गरिन्छ । सडक विभागका महानिर्देशक डा.विजय जैसी हड्खलेले दशै छिट्टै भएकाले सडकका खाल्डाखुल्डी टाल्ने काम सुरु गरेको बताए । उनका अनुसार अहिले कहाँ कहाँ खाल्डा छन् भनेर देशभरमा सडक विभाग मातहतका सडकहरुको पहिचान गर्ने काम भइरहेको छ । उक्त पहिचान सकिएपछि खाल्डाखुल्डी टालिन्छ । ‘अहिले पनि टाल्ने कामहरु भइरहन्छ । पानी परेका बेला हुँदैन । दशै अघि हामी खाल्डाखुल्डी टालिसक्छौं,’ डा.जैसीले भने, ‘अन्य निकायले सडक खनेर छाडिदिंदा समस्या भएको छ । यसमा कडाइ गर्नुपर्ने भएको छ । यसको जनगुनासो बढ्दो छ । यो पटक असोज पहिलो सातादेखि नै दशै सुरु हुन्छ ।
हरेक वर्ष दशै अघि सडकका खाल्डा खुल्डी टालिन्छ । यो नियमित मर्मत सम्भार अन्तर्गतको काम हो । जसका लागि कुनै छुट्टै बजेट भने हुँदैन । नेपालमा सडकहरु ठूलो संख्यामा बनेपनि मर्मत सम्भारका लागि पर्याप्त बजेट छुट्याइदैन । जसका कारण सडकहरुको समयमा मर्मत नहुँदा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था छ । अघिल्लो वर्ष मर्मत सम्भारका लागि करिब ६ अर्ब रुपैयाँ विनियोजन भएको थियो । चालु वर्षका लागि उक्त रकम ५० प्रतिशत कटौती गरेर ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
मर्मत सम्भारमा पर्याप्त बजेट नहुँदा राज्यले ठूलो लगानी भएका सडकहरुमा ठूलो क्षति हुने गरेको छ ।