
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशकै पहिलो पम्पस्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले मकवानपुरको कुलेखानी- सिस्नेरी क्षेत्रमा १०० मेगावाट क्षमताको पम्प–स्टोरेज आयोजना अघि बढाउन लागेको हो ।
यो आयोजना मुलुकको ऊर्जामा सन्तुलन ल्याउने र पिक अवधिमा विद्युत आपूर्ति सुनिश्चित गर्ने लक्ष्यका साथ अगाडि बढाइएको बताइएको । कुलेखानी–१ जलाशययुक्त आयोजनाबाट करिब २ किलोमिटर तलको सिस्नेरी क्षेत्रमा निर्माण हुने यो आयोजना हाल प्रारम्भिक सर्वेक्षण चरणमा छ ।
विद्युत प्राधिकरणले विद्युत विकास विभागमा आयोजनाको सर्वेक्षण अनुमति माग गर्दै औपचारिक आवेदन दिएको छ । ‘हामीलाई दुईवटा पम्प स्टोरेज आयोजनाको अनुमति माग्दै प्राधिकरणले आवेदन दिएको छ । हामी एक दुई दिनमै प्राधिकरणलाइ सर्वेक्षणको लाइसेन्स दिन्छौं,’ विद्युत विकास विभागका एक इन्जिनियरले भने, ‘ऊर्जा सुरक्षा र सुन्तलनका लागि यो आयोजना निर्माण गर्न खोजिएको छ । ‘विद्युत विकास विभागका महानिर्देशक नवीन राज सिंहले पनि लाइसेन्स मागेको बताए ।
विद्युत प्राधिकरणका अनुसार प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार उक्त आयोजना सञ्चालन हुँदा दिउँसोको पिक अवधिमा कुलेखानी जलाशयबाट पानी तानेर विद्युत उत्पादन गरिनेछ भने रातको अफ पिक समयमा सोही पानी पम्पिङ गरी पुनः माथिल्लो जलाशयमा फिर्ता पठाइनेछ । यस्तो प्रविधिलाई पम्प–स्टोरेज भनिन्छ, जुन ऊर्जा भण्डारणको प्रभावकारी माध्यम हो ।
प्राधिकरणका अनुसार आयोजनाको निर्माण कार्य दुई वर्षभित्र सुरु गर्ने लक्ष्य लिइएको छ । कुलेखानी पम्प–स्टोरेज आयोजना हाम्रो रणनीतिक परियोजना हो । यसले पिक समयको लोड व्यवस्थापनमा सघाउ पुर्याउनुका साथै ग्रिड सन्तुलनमा महत्त्वपूर्ण योगदान दिन्छ ।
विद्युत उत्पादनमा देश आत्मनिर्भर बन्दै गएको अवस्थामा ग्रिड स्थिरता र सन्तुलन कायम गर्न पम्प–स्टोरेज परियोजना अत्यावश्यक मानिएको छ ।
विशेषज्ञहरूका अनुसार पम्प–स्टोरेज आयोजना जलाशययुक्त आयोजनाभन्दा झन उपयोगी हुन्छ, किनभने यसले सस्तो मूल्यमा ऊर्जा भण्डारण गरेर उच्च मूल्यमा आपूर्ति गर्न सक्ने अवसर दिन्छ ।
नेपालमा हालसम्म कुनै पम्प–स्टोरेज आयोजना सञ्चालनमा आइसकेको छैन । कुलेखानी आयोजना सम्पन्न भएपछि देशको ऊर्जामा नयाँ अध्याय थपिने अपेक्षा गरिएको छ ।
उच्चस्तरीय आर्थिक सुझाव आयोगले समेत पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथमिकतामा पाइलट परियोजना बनाउन सुझाव दिएको थियो ।