
काठमाडौं । कालापत्थर,गोल्डेन ओक, भिज, हिमालयन ब्रान्डीलगायतका रक्सी बनाउने विजय डिस्टिलरीले ९ महिनामा १ अर्ब १९ लाख २० हजार रुपैयाँको व्यापार गरेको छ ।
२०२५ को सुरुवाती ९ महिनामा कम्पनीले १ अर्ब १९ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
२०२१ यता कम्पनीको व्यापारमा गिरावट आइरहँदा २०२५ मा भने केही सुधार देखिएको हो । २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको व्यापार २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँमा सीमित भएको थियो ।
२०२३ मा कम्पनीको व्यापारमा केही सुधार भएर २ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार भएको भएतापनि २०२४ मा भने कम्पनीको वर्षभरिको व्यापार १ अर्ब १० लाख रुपैयाँमा सीमित भएको थियो । २०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीको व्यापार १ अर्ब १९ करोड २० लाख रुपैयाँको व्यापार भएको छ ।
कम्पनीको व्यापारमा सुधार भईरहँदा त्यसको असर मार्जिनमा पनि देखिएको छ । कम्पनीको ओपिबिडिआइटिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको लागत घटाउनु अघिको सञ्चालन नाफा) २०२५ को ९ महिनामा २८ प्रतिशत कायम भएको हो । यसअघिका वर्षहरुमा हेर्दा २०२१ मा १७ प्रतिशत मार्जिन कायम भएको थियो । २०२२ मा कम्पनीको ओपिबिडिआइटिए मार्जिन ९ प्रतिशत थियो भने २०२३ मा ९ प्रतिशत नै मार्जिन कायम भएको थियो ।
२०२४ मा भने मार्जिन नकरात्मक ७ प्रतिशत कायम भएको थियो । तर, २०२५ को ९ महिनामा भने कम्पनीको मार्जिन २८ प्रतिशत कायम भएको छ ।
२०१३ मा खुलेको विजय डिस्टिलरी प्रालि नेपालका ‘लिक्कर किङ (रक्सीका बादशाह)’ का रुपमा चिनिने विजय कुमार शाहको कम्पनी हो । कम्पनीको पूर्ण स्वामित्व उनको साथमा रहेको छ ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज अन्तर्गतको यो कम्पनीले विगत चार दशकदेखि नेपालमा रक्सीको उत्पादन गर्दै आएको छ ।कालापत्थर,गोल्डेन ओक, भिज, हिमालयन ब्रान्डीसहित कम्पनीले विभिन्न ८ ब्राण्डको रक्सी नेपालमा बेच्ने गरेको छ । यसमा अन्तराष्ट्रिय ब्राण्ड स्काई, ब्लु डायमन्ड जिन र स्वान भोड्का पनि रहेका छन् ।
देशैभरमा २४० वटा सब-डिलर रहेको कम्पनीले हाल लुम्बिनी प्रदेशको परासी जिल्लामा उत्पादन कारखाना सञ्चालन गरिरहेको छ ।
हालका लागि भने यो कम्पनीले ९१ करोड २० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ । इक्रा नेपालले यो कम्पनीलाई ५० करोड ७० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ४० करोड ५० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।
