Nepal Purbadhar

चोभार गल्छीको चट्टान हटाउने उद्देश्य छैन- शहरी विकास मन्त्रालय


काठमाडौं । शहरी विकास मन्त्रालयले चोभार गल्छीस्थित चट्टान हटाउने कुनै उद्देश्य नरहेको बताएको छ । 

मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै चोभार गल्छी चौडा गर्ने तथा परापूर्वकाल देखि प्राकृतिक रूपमा रहेका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको जानकारी दिएको हो । 

पछिल्ला केही दिनयता चोभार गल्छीलाई चौडा पार्न त्यहाँ रहेका चट्टानहरु हटाउन लागिएको भन्दै चर्चा चलेको थियो । उक्क विषयलाई लिएर चोभार क्षेत्रका स्थानीयहरुले विरोध पनि जनाएका थिए । मन्त्रालयले भने यो कुरा गलत रहेको जनाएको छ । 

मन्त्रालयले विज्ञप्तीमा भनेको छ, ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकोले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिने । भन्ने पत्र प्राप्त भएकोमा उक्त निर्णय कार्यान्वयन सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल तथा राजनैतिक दलहरूमा फरक फरक बिचार प्रेषित भै जनमानसमा दुविधा पर्न गएको छ ।’

मन्त्रालयले बाढी पहिरो जस्ता विपदबाट जनधनको क्षति हुन नदिन तथा नदी किनारमा विस्तार भएको वस्तीहरूको संरक्षण गर्नु सरकारको साझा दायित्व बताएको छ । काठमाडौं उपत्यकाको पानीको निकास विन्दु चोभारमा रहेको गल्छीको धार्मिक सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै चोभार गल्छी वरपरको क्षेत्रमा हुनसक्ने डुबान न्यूनीकरणको लागि चोभार गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोरहरू हटाउने तथा पहिरो जानसक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी रोकथामको कार्य गर्न मन्त्रालयले जनाएको छ । साथै, यसको दीर्घकालीन समाधानको लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजना समेत तयार गर्ने मन्त्रालयले जनाएको छ । 


Read Previous

मिसन २८,५०० मेगावाट-असोज १ र २ गते पावर समिट गर्दै इप्पान, ३० बढी देशको सहभागिता रहने

Read Next

लबिम मल सञ्चालन गर्ने ललितपुर विशाल बजार मल्टिप्लेक्सले एक वर्षमा गर्‍यो ३५ करोड ६० लाख कारोबार