
सिन्धुपालचोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ ।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए । अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको ब्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिए ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरिता दवाडी, सिँचाई विभागका महानिर्देशक सन्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली पुगेको थियो ।

पहिलो पटक उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बाढी प्रभावित क्षेत्रमा- तत्काल बजेट ब्यवस्थापन
२०७८ असार १ मा गएको विनाशकारी बाढी पछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको थियो भने बाढीले सिपाघाटसम्म क्षति पुर्याएको थियो । सरकारका प्रधानमन्त्री, खानेपानी मन्त्रीदेखि भौतिक मन्त्रीहरु पटक पटक मेलम्ची पुगेपनि कुनै काम हुन सकेको थिएन । तर पहिलो पटक स्थलगत अवलोकनमा पुगेका खड्काले विजुली गतिमा काम गर्न निर्देशन दिदै तत्काल बर्षायामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिएका हुन् । । सिँचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीले बाढी प्रभावित क्षेत्रमा तत्काल काम गर्न मन्त्रीले दिएको निर्देशन अनुसार केही दिनभित्रै १६ करोडको ठेक्का खोल्ने र कामको गति बढाउने बताए ।
जनताको पक्षमा काम गर्ने मन्त्री- सांसद बस्नेत
सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले मन्त्री खड्का जनताको पक्षमा शसक्त काम गर्ने मन्त्री भएको बताए । ‘अरु मन्त्री कुरा गर्छन, उहाँ एक्सन ओरिन्टेड हुनुहुन्छ, त्यसैले पहिलो पटक स्थलगत अवलोकनमा आउने वित्तिकै यो आउने बर्षाले थप क्षति नपुराओस भनेर १६ करोड भन्दा बढीको ठेक्का मेरै अनुरोधमा गर्न लाग्नुभएको छ,’ उनले भने । सिन्धुपाल्चोक वासीको तर्फबाट धन्यवाद दिदै सांसद बस्नेतले यो बजेटमा बाढी प्रभावित हेलम्बु, मेलम्ची र सिपाघाटदेखि भीमटार क्षेत्रमा करोडौं बजेट विनियोजन हुने बताए ।

वर्षाअघि नै तटबन्धको लागि स्थानीय तहबाट माग भएपछि मन्त्री खड्काको निर्देशनमा बजेटको सुनिश्चिता भएपछि स्थानीय सागरकुमार श्रेष्ठले भने- ‘धेरै मन्त्री आए-गए तर काम गर्ने मन्त्री दिपक खड्का पो हुनुहुदो रहेछ । बोलेअनुसार काम गर्ने मन्त्री भएको कामले नै पुष्टी गर्न लाग्नुभएको छ । म धन्यवाद दिन चाहान्छु ।’
मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार नराम्ररी क्षति भएको थियो भने हजारौ रोपनी जग्गा बगाएको थियो । अर्बोको धनजनको क्षति भएपनि सरकारले पर्याप्त ध्यान नदिदाँ बाढी प्रभावित क्षेत्रको विकासमा खासै काम हुन सकेको थिएन ।

तर बजेटको ब्यस्त समयमा पनि मन्त्री खड्का आफैं मन्त्रालयको टिम लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर काम गर्ने प्रतिवद्ता जनाएपछि स्थानीयहरुमा खुसीको सञ्चार भएको छ । मन्त्री खड्का यसअघि खानेपानी राज्यमन्त्री हुदाँ पनि मेलम्ची र हेलम्बु क्षेत्रमा पुगी विकासको काममा सारथी बन्नुभएको थियो भने रोकिएको मेलम्ची आयोजनाको काम खड्काकै पहलमा तत्कालीन समयमा अगाडी बढेर हेलम्बुबाट पानी सुन्दरीजल आएको थियो ।