Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

राहुघाट बेसिनमा निर्माणाधीन ५ जलविद्युत आयोजना पूरा हुने चरणमा   


म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित ५ वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको साताैँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा पहिचान भएका १६७.३ मेगावाटका यी आयोजना निर्माण भइरहेका हुन् ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ३ वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको बताए । उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र  विद्युत् उत्पादन गर्ने गरी निर्माण भइरहेकाे छ ।

“८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, उनले भने, “४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।”

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको ६.२७० किलाेमिटर सुरुङमध्ये अब करिब २५० मिटर मात्र खन्न बाँकी छ । करिब ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए ।

अपर राहुघाट र मंगले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको बताए । करिब १४ अर्ब रुपैयाँ लागतमा २०७७ मा मंगले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी गरिएको इञ्जिनियर तिमिल्सिनाले बताए ।

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको कामसक्ने लक्ष्य रहेको बताए ।

२२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको बताउनुभयो । उनका अनुसार विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ ।

सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

३० महिना ठेक्का अवधि भएको आयोजनाको २६ महिना सकिँदा राहुघाटमा सबस्टेसन निर्माण सुरु नहुँदा म्याग्दीको जलविद्युत् क्षेत्रमा नकारात्मक असर परेको संविधानसभा सदस्य नवराज शर्माले बताए । “डाँडाखेतको सबस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि सन्तोषजनक छैन”, उनले भने, “ठेक्का अवधि सकिन चार महिनामात्र बाँकी हुँदासमेत राहुघाटमा सबस्टेसन निर्माण सुरु नगर्दा म्याग्दीको जलविद्युत् क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ ।”


Read Previous

सुनकोसी मरिन डाइभर्सन परियाेजनाकाे सुरुङ छेडिन ११० मिटर बाँकी   

Read Next

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजनाकाे निर्माण  थालियाे

Leave a Reply

Your email address will not be published.